प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ आजदेखि



काठमाडौं, असोज २०। विभिन्न १३ देशका लागि सरकारले प्रस्ताव गरेका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ।

प्रतिनिधिसभाअन्तर्गतको संसदीय सुनुवाइ समितिको आज बिहान सवा ११ बजे बस्ने बैठकमा प्रस्तावित राजदूतविरुद्ध परेका उजुरी समितिका सदस्यहरूलाई वितरण गरिनेछ। साथै प्रस्तावित राजदूतहरूले समितिमा पेस गरेका कार्ययोजनासमेत सदस्यहरूलाई उपलब्ध गराइने कार्यसूची छ।

प्रस्तावित १३ राजदूतविरुद्ध समितिमा सातवटा उजुरी परेका छन्। तीमध्ये दुईवटा उजुरी सबै प्रस्तावित राजदूतलाई समेटेर परेका छन् भने पाँचवटा उजुरीमा छुट्टाछुट्टै व्यक्तिलाई लक्षित गरिएको छ।

मन्त्रिपरिषद्को असोज २ गते बसेको बैठकले विभिन्न १३ देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो।

सरकारले भारतका लागि डा। निश्चलनाथ पाण्डे, चीनका लागि डा। कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जबरालाई राजदूतमा सिफारिस गरेको छ।

त्यस्तै, जापानका लागि जिज्ञानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी र ओमानका लागि डा। पद्माक्षी राणाको नाम सिफारिस गरिएको छ।

मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा। डा। सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा। मंचला झा तथा साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गरिएको छ।

संसदीय सुनुवाइ समितिले उजुरी र प्रस्तावित राजदूतका कार्ययोजनामाथि छलफल तथा सुनुवाइ गरेपछि उनीहरूको नाम अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय गर्नेछ।

प्रकाशित मिति: २०८३ आश्विन २०, मंगलवार ०८:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको