दसैँका लागि अग्रिम टिकट शुक्रबारदेखि, घटस्थापनादेखि रुट परमिट खुला



काठमाडौं, असोज २१ । दसैँमा घर जाने यात्रुका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ शुक्रबारदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवाला निकायको बैठकले दसैँलक्षित अग्रिम टिकट बिक्री खुला गर्ने निर्णय गरेको हो।

बैठकले घटस्थापना अर्थात् असोज २५ गतेदेखि पूर्णिमासम्म देशभर सार्वजनिक सवारीसाधनका लागि रुट परमिट खुला गर्ने निर्णयसमेत गरेको छ। सडकको अवस्था वा विशेष प्रकृतिका कारण निश्चित सवारीसाधन चलाउन निषेध गरिएका रुटमा भने प्रतिबन्ध कायमै रहनेछ।

नारायणगढ–काठमाडौं सडकखण्डमा असोज २५ देखि कात्तिक ८ गतेसम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। खाद्यान्न, औषधी, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधन भने सञ्चालन गर्न पाइनेछ।

यातायात व्यवस्था विभागका निर्देशक तथा सूचना अधिकारी केशव खतिवडाका अनुसार बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले यस वर्ष अग्रिम टिकट बुकिङ ढिला भएको हो। भत्किएका सडक मर्मत गर्ने तथा आवश्यक परे ट्र्याक खोलेर भए पनि यातायात सञ्चालन गर्ने तयारी गरिएको उनले बताए।

चाडपर्वका बेला बढी भाडा असुल्ने, कालोबजारी गर्ने वा टिकटमा अनियमितता गर्नेमाथि कडा कारबाही गरिने विभागले जनाएको छ। यात्रुलाई आधिकारिक काउन्टरबाट मात्र टिकट खरिद गर्न आग्रह गरिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार बसपार्क, चाबहिल, बल्खु र कोटेश्वरलगायत स्थानबाट अग्रिम टिकट काट्न सकिनेछ। यस वर्ष करिब १५ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ।

यात्रुको सुरक्षाका लागि लामो दूरीका सवारीसाधनमा दुई जना चालक अनिवार्य गरिएको छ। टिकट काट्दा यात्रुको नाम र सम्पर्क नम्बर अभिलेख राख्नुपर्नेछ। यात्रुको सहजताका लागि १४ वटा नागरिक सहायता कक्ष सञ्चालन गरिने भएको छ।

राजमार्गमा हुने अवरोध तथा दुर्घटनाको तत्काल जानकारी आदानप्रदान गर्न केन्द्रीय सूचना केन्द्र सञ्चालन गरिनेछ। यात्रुवाहक सवारीसाधनमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण र पिउने पानी अनिवार्य उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार ०७:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको