जनकपुरधाम, असोज २१ । नेपाली कांग्रेसका नेता एवं पूर्व उपभापति विमलेन्द्र निधिले पार्टी विभाजनको जिम्मेवारी गगन थापा समूहले लिनुपर्ने बताएका छन्।
संस्थापनइतर समूहले जनकपुरधाममा आयोजना गरेको १५औँ नगर अधिवेशनमा प्रमुख अतिथि नेता निधिले कांग्रेस विशेष महाधिवेशनकै क्रममा व्यवहारिक रूपमा विभाजित भइसकेको दाबी गरे। उनका अनुसार केन्द्रीय समितिको निर्णयबिना विशेष महाधिवेशन आयोजना गर्नु नै पार्टी विभाजनको मुख्य कारण बनेको हो।
निधिले विधि र प्रक्रिया पूरा नगरी आयोजना गरिएको विशेष महाधिवेशनलाई अवैधानिक भएको दाबी गरे। उनले विशेष महाधिवेशनमा ५४ प्रतिशत प्रतिनिधिको सहभागिता रहेको गगन समूहकै दाबीलाई आधार बनाउँदै बाँकी ४६ प्रतिशत प्रतिनिधि आफूहरूसँग रहेको बताए।
यद्यपि, संस्थापनइतर समूहको दाबीअनुसार विशेष महाधिवेशनमा ६० प्रतिशत प्रतिनिधि सहभागी नभएको निधिको भनाइ छ। उनले विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै त्यसबाट उत्पन्न विवादको कानुनी र राजनीतिक दुवै पक्षमा आफूहरूको धारणा स्पष्ट रहेको बताए।
विशेष महाधिवेशनसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै निधिले निर्वाचन आयोगले समेत आफूहरूको महाधिवेशनलाई स्वीकार गरिसकेको दाबी गरे। त्यसैले आफूहरूले अघि बढाएको महाधिवेशन संवैधानिक र वैधानिक रहेको उनको भनाइ थियो।
उनले कानुनी प्रक्रिया आफ्नो ठाउँमा रहे पनि राजनीतिक तथा व्यवहारिक रूपमा कांग्रेस विभाजनको जिम्मेवारी विशेष महाधिवेशन आयोजना गर्ने गगन समूहले नै लिनुपर्ने दोहोर्याए।
राकेश विक्रम शाहले अध्यक्षता गरेको कार्यक्रममा जिल्ला संयोजक कोमल कान्त झा, पूर्व जिल्ला सभापति स्मृति नारायण चौधरी तथा स्वतन्त्रता सेनानी राम भरत साहलगायतले सम्बोधन गरेका थिए ।






