एजेन्सी, असोज २१ । यमनका हुथी विद्रोहीले साउदी अरबका दुई विमानस्थलमा आक्रमण गर्दा तीन जना घाइते भएका छन्। साउदी अरबको नागरिक उड्डयन प्राधिकरणका अनुसार जिजानस्थित किङ अब्दुल्लाह बिन अब्दुलअजिज अन्तर्राष्ट्रिय विमानस्थल र नजरान अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी आक्रमण भएको हो।
आक्रमणबाट तीन जना सामान्य घाइते भएको र दुवै विमानस्थलमा भौतिक क्षति पुगेको प्राधिकरणले जनाएको छ। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। विमानस्थलको क्षतिको मूल्यांकन तथा यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चालिएको पनि प्राधिकरणले जनाएको छ।
हुथीहरूले दक्षिणी साउदी अरबका विभिन्न स्थानमा विमानस्थल तथा सैन्य संरचनालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्। आक्रमणमा मिसाइल तथा ड्रोन प्रयोग गरिएको बताइएको छ।
यो घटना यमनमा हुथी र साउदी समर्थित सरकारी सेनाबीचको संघर्ष चर्किएका बेला भएको हो। साउदी समर्थित यमनी सरकारी सेनाले हुथीको नियन्त्रणमा रहेका क्षेत्र पुनः कब्जा गर्ने अभियान तीव्र बनाएपछि त्यसको प्रतिक्रियामा हुथीहरूले साउदी क्षेत्रमा आक्रमण बढाएका हुन्।
यसैबीच, साउदी नेतृत्वको गठबन्धनले यमनमा हुथीका सैन्य संरचनालाई लक्षित गर्दै कारबाही जारी राखेको छ। पछिल्लो घटनाक्रमले साउदी–यमन सीमाक्षेत्रमा पुनः तनाव बढेको देखिएको छ।






