एकतापछि जसपा नेपालको पहिलो केन्द्रीय समिति बैठक आज देखी

कार्यकारिणी समितिले तय गरे एजेण्डा


काठमाडौं, असोज २१। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज देखी सुरु हुने भएको छ। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबीच एकीकरण भएपछि यो पहिलो केन्द्रीय समिति बैठक हो।

दुई पार्टीबीच एकता भएपछि साउन ३० गते २७९ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरिएको थियो। सोही कार्यसमितिको पहिलो बैठक असोज २१ देखि २३ गतेसम्म काठमाडौंमा बस्न लागेको हो।

बैठकको तयारीका लागि मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने एजेन्डाबारे छलफल गरेको थियो। जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाका अनुसार बैठकमा पार्टीको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत गरिनेछ।

ती प्रतिवेदनमाथि केन्द्रीय समिति सदस्यहरूले सामूहिक छलफल गर्ने र आवश्यक सुझावसहित पारित गर्ने तयारी छ।

त्यसैगरी, पार्टी एकीकरणपछि अझै समायोजन हुन बाँकी रहेका प्रदेश, जिल्ला तथा स्थानीय तहका संगठनको विषयमा पनि बैठकमा छलफल हुनेछ। विभिन्न भ्रातृ संगठनको समायोजन तथा व्यवस्थापनलाई समेत बैठकले प्राथमिकतामा राखेको छ।

बैठकले २७९ सदस्यीय केन्द्रीय समिति सदस्यहरूको कार्यविभाजनसमेत गर्नेछ। नेताहरूलाई जिम्मेवारी बाँडफाँटसँगै पार्टीको संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने विषयमा छलफल हुने बताइएको छ।

समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको संगठन विस्तार तथा आगामी कार्यक्रमका विषयमा पनि बैठकमा छलफल हुने जसपा नेपालले जनाएको छ।

यसरी पार्टी एकीकरणपछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकले संगठन समायोजन, जिम्मेवारी बाँडफाँट र आगामी राजनीतिक कार्यदिशासम्बन्धी महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८३ आश्विन २१, बुधबार ०७:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको