एनपीएलमा आज जनकपुर–कर्णली र विराटनगर–चितवन भिड्दै



काठमाडौं, कात्तिक १० । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

त्रिवि क्रिकेट मैदानमा पहिलो खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ। विराटनगर र चितवनबीचको प्रतिस्पर्धापछि साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। मधेश प्रदेशको प्रतिनिधित्व गर्ने जनकपुर बोल्ट्सका लागि आजको खेल प्रतियोगितामा आफ्नो प्रदर्शन बलियो बनाउने अवसर हुनेछ।

सोमबारदेखि सुरु भएको एनपीएलको तेस्रो संस्करण मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका खेल हिमालय स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुनेछन्।

यसअघि सोमबार भएको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।

टस जितेर पहिले बलिङ गरेको लुम्बिनीले सुदूरपश्चिमलाई १७।२ ओभरमा ८७ रनमा समेटेको थियो। लुम्बिनीका किशोर महतोले ४ विकेट लिए भने शेर मल्लले ३ विकेट हात पारे। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २३ रन बनाए।

८८ रनको सामान्य लक्ष्य लुम्बिनीले १० ओभरभित्रै ३ विकेट गुमाएर पूरा गर्‍यो। अस्ट्रेलियाली ब्याटर डार्सी सर्टले १८ बलमा ४० रन बनाए भने आसिफ शेखले ३२ रनको योगदान दिए।

यस संस्करणको एनपीएलमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम ९डीआरएस० प्रविधिसमेत प्रयोग गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा प्रचलित यो प्रविधिले अम्पायरको निर्णय पुनरावलोकन गर्न सहयोग पुर्‍याउनेछ।

एनपीएललाई नेपाली क्रिकेटको प्रमुख घरेलु प्रतियोगिताका रूपमा हेरिएको छ। आजका दुवै खेलले प्रतियोगितामा टोलीहरूको सुरुवाती लय र प्रतिस्पर्धात्मक अवस्थाबारे थप संकेत दिनेछन्।

प्रकाशित मिति: २०८३ कार्तिक १०, मंगलवार ०७:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको