सरकारविरुद्ध आन्दोलनको तयारी गर्न ओलीको निर्देशन



काठमाडौं, कात्तिक ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारविरुद्ध आन्दोलनको तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले सरकार फाँसीवादतर्फ अघि बढिरहेको आरोप लगाउँदै तिहार र छठपछि पनि आन्दोलन हुन सक्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै ओलीले नेता तथा कार्यकर्तालाई आन्दोलनका लागि मानसिक रूपमा तयार रहन आग्रह गरे। देश सङ्कटपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनले मुलुकलाई निकास दिन आन्दोलन आवश्यक भएको धारणा राखे।

ओलीले सरकारले पूर्वाग्रह राखेर पक्राउ गर्ने, सादा पोसाकका प्रहरी प्रयोग गरी बलजफ्ती गर्ने र देशमा आतङ्क फैलाउने काम गरेको आरोप लगाए। पूर्वप्रधानन्यायाधीशदेखि आफूलाई समेत सरकारले पूर्वाग्रहका आधारमा पक्राउ गरेको उनको जिकिर थियो।

उनले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए। निर्वाचनमा एमालेलाई पराजित गर्ने प्रयास भइरहेको दाबी गर्दै ओलीले त्यसलाई असफल बनाउनुपर्ने बताए।

आन्दोलनबाटै पार्टीले शक्ति आर्जन गर्ने र राजनीतिक रूपमा अघि बढ्न सक्ने उनको भनाइ थियो। आन्दोलन गर्न तयार नभएसम्म सफलता हासिल गर्न नसकिने उल्लेख गर्दै उनले पार्टीलाई बलियो बनाउन नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २०८३ कार्तिक ११, बुधवार १८:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको