प्रधानमन्त्री बालेनद्वारा भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो



७ मंसिर, नयाँदिल्ली ।प्रधानमन्त्री वालेन्द्र बालेन शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिनुभएको छ ।

सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले नेपाली जनताको तर्फबाट मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको हो । उहाँले भारतीय जनतालाई समेत नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो । पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले भारतलाई नेपालको भरपर्दो र विश्वसनीय छिमेकीका रूपमा उल्लेख गर्दै भारत सरकार तथा जनताप्रति आभार व्यक्त गर्नुभयो ।

शाहका अनुसार शताब्दीऔँ पुरानो नेपाल–भारत सम्बन्धलाई थप सुदृढ र समयसापेक्ष बनाउन दुवै देशका प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो । उक्त वार्तामा बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा स्पष्ट, ठोस र भविष्यकेन्द्रित छलफल भएको उहाँले बताउनुभयो ।

दुवै देशबीचको बलियो सम्बन्धलाई आधार बनाएर आगामी दिनमा सहकार्यका नयाँ क्षेत्र पहिचान गर्नुपर्नेमा जोड दिँदै उहाँले जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री शाहले दुवै देशको आर्थिक समृद्धिका लागि सहकार्य गर्न भारतीय लगानीकर्तालाई नेपालमा स्वागतसमेत गर्नुभयो । नेपालमा स्थापना भएको आईआईटीमा आगामी दिनमा भारतीय विद्यार्थीले पनि अध्ययन गर्न सक्ने वातावरण निर्माण गर्ने उहाँको भनाइ थियो ।

त्यसैगरी, नेपाल र भारतका विभिन्न सहरबीच सीधा हवाई सम्पर्क विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री शाहले यसले दुई देशबीचको आवागमन, पर्यटन तथा आपसी सम्बन्धलाई थप सहज बनाउने बताउनुभयो ।

प्रकाशित मिति: २०८३ मंसिर ७, सोमवार १५:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको