स्थानीय र प्रदेश निर्वाचनमा एमालेसँग गठबन्धन गर्ने सहमति भएको प्रचण्डको दाबी



काठमाडौँ ७ मंसिर, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने सहमति भइसकेको बताउनुभएको छ ।

गोरखा पुग्नुभएका प्रचण्डले एमालेसहित विभिन्न कम्युनिस्ट घटकसँग सडक र सदन दुवै ठाउँमा सहकार्य गर्ने सहमति भएको जानकारी दिनुभयो । उहाँले अन्य कम्युनिस्ट शक्तिलाई समेत एकताबद्ध बनाउने प्रयास भइरहेको बताउनुभयो । प्रचण्डले भन्नुभयो, ‘सहकार्य गर्ने सहमति त भइसकेको छ । एमाले र मसालसँग सदनभित्र र सडकमा मिलेर नै सङ्घर्ष गर्ने सहमति भएको छ । स्थानीय र प्रदेशको निर्वाचनमा पनि मिलेर नै लड्ने भन्ने नीतिगत निर्णय भएको छ ।’

उहाँले सहकार्यमा मात्रै सीमित नभई कम्युनिस्ट पार्टीहरूबीच एकता गरेर एउटै राजनीतिक केन्द्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कम्युनिस्ट आन्दोलनको रक्षा, राष्ट्रिय स्वाधीनता र समाजवादको लक्ष्य प्राप्तिका लागि सबै कम्युनिस्ट शक्ति एक ठाउँमा आउनुपर्ने उहाँको भनाइ थियो ।

प्रचण्डले एमालेका नेताहरूसँग पार्टी एकता र सहकार्यका विषयमा निरन्तर छलफल भइरहेको पनि बताउनुभयो । यद्यपि, एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहकार्यको आवश्यकता बुझाउन सहज नभएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एमालेका नेताहरूसँग पनि छलफल भइरहेको छ । यद्यपि केपीजीलाई कुरा बुझाउन सजिलो भइराखेको छैन । तर पनि देशको परिस्थिति बदल्न हामी सहकार्य र एकता गरेर जानुपर्छ भन्नेमा राम्रै कुरा भएको छ ।’ यसैगरी, प्रचण्डले संविधानसभा र शान्ति सम्झौतामा सहभागी भएका राजनीतिक शक्तिहरूसँग पनि संवाद जारी रहेको जानकारी दिनुभयो । नेपाली कांग्रेसका नेताहरू, विशेषगरी शेरबहादुर देउवासँग पनि सहकार्यका विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

कांग्रेससहितका राजनीतिक दलबीच मोर्चा बनाएर अघि बढ्ने विषयमा मतभेद नरहेको उल्लेख गर्दै उहाँले मधेश केन्द्रित दलहरूसँग पनि संवाद सकारात्मक दिशामा अघि बढिरहेको बताउनुभयो । संविधान, गणतन्त्र, समावेशिता र संघीयताको रक्षाका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिँदै प्रचण्डले त्यसका लागि आफूहरू निरन्तर संवादमा रहेको बताउनुभयो ।

प्रकाशित मिति: २०८३ मंसिर ७, सोमवार १५:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको