ओम प्रकाश यादव
मंसिर ९ गते, रौतहट । रौतहटको माधवनारायण नगरपालिकाका पूर्वनगर प्रमुख एवं जनता समाजवादी पार्टी जसपा नेपालका नेता बिरेन्द्र प्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनमा पुनः माधव नारायण नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
जसपा नेपाल माधवनारायण नगर समितिको आयोजनामा मंगलबार आज वडा नं। १ दिपहीमा आयोजित नगरस्तरीय कार्यकर्ता भेलामा यादवले आगामी निर्वाचनमा नगर प्रमुख पदमा पुनः प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट उम्मेदवार बनेका यादव माधवनारायण नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए।
नगर प्रमुखका रूपमा आफ्नो कार्यकालमा गरेका कामका कारण स्थानीयस्तरमा लोकप्रिय रहेका यादवले यसपटक पनि नगर प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेसँगै माधवनारायणको स्थानीय राजनीतिमा चुनावी सरगर्मी बढेको छ। यसपटक जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टीलगायत ९ दल मिलेर बनेको अग्रगामी मोर्चाले संयुक्त रूपमा एउटै चुनाव चिह्नबाट निर्वाचनमा जाने तयारी गरेको छ।
माधवनारायण नगरपालिकामा जसपा नेपालको संगठन मोर्चामा आबद्ध अन्य दलको तुलनामा बलियो रहेको तथा यादव यसअघि नगर प्रमुख भइसकेका कारण उनलाई अग्रगामी मोर्चाबाट नगर प्रमुखको उम्मेदवार बनाउने सम्भावना बलियो देखिएको छ। कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य, पूर्वप्रदेश सांसद एवं मधेश प्रदेशका पूर्वकृषि राज्यमन्त्री योगेन्द्र राय यादवले अग्रगामी मोर्चाको तर्फबाट माधवनारायण नगर प्रमुखको सम्भावित उम्मेदवारका रूपमा पूर्वनगर प्रमुख बिरेन्द्र प्रसाद यादव नै सबैभन्दा बलियो दाबेदार रहेको बताए।
“माधवनारायणमा मोर्चाका घटक दलमध्ये जसपा नेपालको संगठन बलियो छ। पूर्वनगर प्रमुखका रूपमा बिरेन्द्र यादवले जनतामाझ गरेको काम र उहाँको जनसमर्थनलाई हेर्दा मोर्चाको तर्फबाट उहाँले नै टिकट पाउने सम्भावना बलियो छ,” पूर्वराज्यमन्त्री यादवले भने।
उनले यादवले विगतमा नगर प्रमुखका रूपमा गरेको काम र मोर्चाको बलियो संगठनका कारण आगामी निर्वाचनमा उनको जित सुनिश्चित हुने दाबीसमेत गरे।
जसपा नेपाल माधवनारायण नगर समितिका अध्यक्ष तथा नगर प्रमुख पदका आकांक्षी बिरेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा नेपालका मधेश प्रदेश सदस्य एवं चर्चित नेता श्यामबिहारी यादव, जिल्ला उपाध्यक्ष पारस भण्डारी, जिल्ला सचिव शम्भु यादव, नेता हरिनारायण प्रसाद यादव लगायतले सम्बोधन गरेका थिए।
कार्यक्रममा वडा नं. १ देखि ९ सम्मका जसपा नेपालका सयौँ नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। भेलामा आगामी स्थानीय तह निर्वाचनको तयारी, संगठन विस्तार तथा अग्रगामी मोर्चालाई मजबुत बनाउँदै निर्वाचनमा जाने विषयमा समेत छलफल भएको जनाइएको छ।
बिरेन्द्र यादवले पुनः नगर प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेसँगै माधवनारायण नगरपालिकाको आगामी निर्वाचन थप प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ।



