धनुषा मंसिर ९ । धनुषामा ट्याक्टरबाट खसेर चक्काले किच्दा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हँसपुर नगरपालिका–९ रुदौलीका १४ वर्षीय जिसान्त कुमार मण्डल रहेका छन्।
मङ्गलबार दिउँसो कमला नगरपालिका–२ सराबेस्थित हुलाकी सडकमा ट्याक्टर पछाडि सार्ने क्रममा मण्डल अचानक सडकमा खसेका थिए। सोही क्रममा ट्याक्टरको पछाडिको चक्का उनको टाउकोमा लाग्दा उनी गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता ओमप्रकाश खनालका अनुसार मधेश प्रदेश ०२–००१ त ३१९९ नम्बरको ट्याक्टरमा सवार रहेका मण्डल दुर्घटनामा परेका हुन्। घटनापछि प्रहरीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मृतकको शव अस्पतालको शवगृहमा राखिएको छ। प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



