काठमाडाँ मंसिर ९ । प्रधानमन्त्री बालेन शाहले लैङ्गिक हिंसाको अन्त्य, पीडितलाई न्याय र दोषीलाई कारबाही गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले शून्य सहनशीलताको नीतिलाई प्रभावकारी रूपमा लागू गर्न सबै सरोकारवाला निकायलाई आग्रहसमेत गरेका छन्।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवातका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसालाई मानवअधिकारमाथिको गम्भीर प्रहारका रूपमा व्याख्या गरेका छन्। यस्तो हिंसाले समानता र समतामूलक समाज निर्माणको अभियानमा अवरोध सिर्जना गर्ने उनको भनाइ छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाको जोखिममा बढी पर्ने गरेको उल्लेख गर्दै उनले डिजिटल प्रविधिको प्रयोगबाट हुने हिंसासमेत पछिल्लो समय चिन्ताको विषय बनेको बताएका छन्। प्रधानमन्त्री शाहले हिंसा नियन्त्रणका लागि कानुनी व्यवस्था प्रभावकारी बनाउनुपर्ने, पीडितको सुरक्षा र पुनःस्थापना सुनिश्चित गर्नुपर्ने तथा दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।
सरकारले महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन र पीडितमैत्री संस्थागत संरचना निर्माणलाई प्राथमिकतामा राखेको पनि उनले बताएका छन्। यसका लागि तीनै तहका सरकार, नागरिक समाज र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उनको सन्देश छ। विपद्का समयमा महिला तथा बालिकामाथि हिंसाको जोखिम थप बढ्न सक्ने भन्दै प्रधानमन्त्रीले विशेष सतर्कता अपनाउनसमेत आग्रह गरेका छन्। भदौमा भोटेकोशी क्षेत्रमा आएको बाढीको उदाहरण दिँदै विपद् व्यवस्थापनसँगै लैङ्गिक सुरक्षालाई पनि प्राथमिकता दिनुपर्ने उनको धारणा छ।
अभियानलाई सफल बनाउन राजनीतिक दल, सञ्चारमाध्यम, निजी क्षेत्र, नागरिक समाज तथा आम नागरिकलाई एकजुट हुन उनले आह्वान गरेका छन्। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ। यस वर्ष संयुक्त राष्ट्रसंघले न्याय सुनिश्चित गर्ने, पीडितको संरक्षण गर्ने र दण्डहीनताको अन्त्य गर्ने सन्देशसहित अभियान अघि बढाएको छ।
नेपालमा पनि पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्याय सुनिश्चित गर्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। प्रधानमन्त्री शाहले अभियानले हिंसामुक्त र समतामूलक समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।



