मुख्यमन्त्रीमा जसपाका सरोज नियुक्त



जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्री पदमा जनता समाजवादी पार्टी (जसपा) का सरोजकुमार यादव नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले जसपा संसदीय दलको नेतासमेत रहेका उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यादवले ६३ प्रदेशसभा सदस्यको समर्थनसहितको पत्र बुझाएपछि उनलाई संविधानको धारा १६८ को उपधारा (२)बमोजिम मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो । उनलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाहेकका सबै दलले समर्थन गरेका छन् ।

नेकपा (एमाले)का २३, जसपाका १६, जनमत पार्टीका १३, नेकपा (माओवादी केन्द्र)का सात, राप्रपाका एक, नागरिक उन्मुक्ति पार्टीका एक, स्वतन्त्र सांसदद्वय सुरिता साह र अनुरुध सिंहले समर्थन गरेका हुन् । माओवादी केन्द्रको ९ जना सांसद भएपनि सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको कारण दुई सांसदको सपथ ग्रहण हुन सकेको छैन् ।

प्रदेश प्रमुख मिश्रले बिहीबार अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी गर्ने समय दिएका थिए । मधेस प्रदेशसभामा कुल १०७ सांसद छन् । बहुमतको सरकार बनाउन कम्तीमा ५४ सांसद आवश्यक पर्छ । तर नव नियुक्त मुख्यमन्त्रीलाई ६३ सांसदको सर्मथन छ । काँग्रेसको २२, लोसपाको ९, नेकपा (एस)को सात र अन्य स्वतन्त्र सांसदले मात्रै उनलाई सर्मथन गरेका छैन् ।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै उनको सपथ ग्रहणको तयारी तिब्र रुपमा भइरहेको छ । मधेश भवन भित्र पण्डाल सजाउने काम भइरहेको छ । विहीबार (आज) १२ बजे उनको सपथ ग्रहण कार्यक्रम राखिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । यद्यपी भोली मुख्यमन्त्रीसँगै कुन दलको कुन मन्त्रीले सपथ ग्रहण गर्ने विषय बारे टुङ्गो लाग्न सकेको छैन् ।

को हुन नव नियुक्त मुख्यमन्त्री यादव ?

मधेस प्रदेशको मुख्यमन्त्रीमा बारा निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’बाट निर्वाचित सरोजकुमार यादव नियुक्त भएका छन् । बुधबार ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका ५१ वर्षीय यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले आज नै नियुक्त गरेका हुन् ।

वि.स.२०२८ माघ १० गते बाराको सिमरौनगढ नगरपालिका–३ मा जन्मिएका यादव निरन्तर पदमा रहदै आएका व्यक्ति हुन् । बुबा परमान्नदप्रसाद यादव र आमा सिकिल देवीको कोखबाट जन्मेका उनी प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् । ०४८ सालबाट राजनीति सुरु गरेका यादव ०५४ सालमा बाराको तत्कालिन हरिहरपुर गाविसको अध्यक्ष बनेका थिए ।

०६४ सालको निर्वाचनमा उनी बारा निर्वाचन क्षेत्र १ बाट तत्कालिन सद्भावना पार्टीबाट संविधानसभा सदस्य भएका थिए । ०६६ सालमा माधव नेपाल नेतृत्वका सरकारमा उनी वाणिज्य तथा आपुर्ती राज्यमन्त्री र ०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका थिए ।

सद्भावना पार्टीको ०६९ सालमा उनी महासचिव बनेका थिए । ०७३ सालमा सोही पार्टीमा उपाध्यक्ष भएका यादव तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) गठन हुँदा समेत उपाध्यक्ष नै थिए । ०७४ को प्रदेशसभा निर्वाचनमा राजपाबाट बारा निर्वाचन क्षेत्र १ को ‘ख’बाट निर्वाचित भएका थिए ।

मधेसमा त्यतिबेला दोस्रो दल रहेको राजपाबाट उनी निर्विरोध सभामुख पदमा चयन भएका थिए । तर जसपाबाट महन्थ ठाकुर समुह अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गर्दा उनी जसपा नै रोजेका थिए । अहिले जसपाबाट उनी मुख्यमन्त्री बनेका छन् ।

प्रकाशित मिति: २०७९ पुष २७, बुधबार १४:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको