रुपेन्द्र पटेल
चन्द्रनिगाहपुर । चुरे संरक्षित क्षेत्रबाट ढुंगा, गिटी, बालुवा लगायत पदार्थ उत्खनन संकलन र निकासी गर्न पाईदैन् । सरकारले चुरे संरक्षण क्षेत्र कायम गरेर सो क्षेत्रबाट ढुंगा, बालुवा, गिटी निकाल्ने काममा कानुनी रुपमा रोक लगाएको छ । तर, रौतहटको चन्द्रपुर नगरपालिका वडा नं—३ स्थित गँैडटारको चाँदी नदि किनारमा ढुंगा संकलन गरेर राखिएको छ ।
संरक्षित चुरे क्षेत्रबाट अवैध रुपमा निकासी गरेर ल्याईएको ढुँगा त्यहाँ राखिएको स्थानियले बताएका छन् । अनधिकृत रुपमा निषेधित क्षेत्रबाट नदीजन्य सामाग्री निकासी गरेर केहि ट्याक्टर व्यवसायीले आर्थिक लाभ लिने गरेका छन् । चुरे क्षेत्रबाट दैनिक दर्जन ट्याक्टरमा ढुँगा चोरी निकासी हुँदा राष्ट्रपती चुरे संरक्षण कार्यक्रमलाई चुनौती थपिएको छ । राष्ट्रपती चुरे सरक्षण कार्यक्रम सञ्चालन रहेको क्षेत्रमा ढुँगा तस्करी रोकिएको छैन् ।
ढुंगा तस्कर व्यवसायीहरुले चुरे क्षेत्रबाट अवैधरुपमा ढुंगा निकासी गर्न नछाडेको स्थानियको भनाई छ । स्थानियका अनुसार नदि आसपासमा क्षेत्रमा केहि ट्याक्टर व्यवसायीहरुले ढुंगा संकलन गरेर राख्ने र महँगो मूल्यमा विक्रि गर्ने गर्दछन् । अवैध रुपमा हुने ढुंगा निकासीको बिरोध गर्दा ज्यान नै जोखिममा पर्ने गरेको गँैडटारका स्थानियहरु बताउँछन् । ट्याक्टर व्यवसायीहरुले राजमार्ग दक्षिणी नदिमा ढुंगा नभएको भन्दै चुरेको फेदी मै पुग्ने गरेको उनीहरु बताँउछन् ।
यसमा संग्लन व्यापारीहरुको धम्कीका कारण ढुंगा तस्करीको बिरोध गर्ने व्यक्तिहरु खुलेर वोल्न चाहादैनन् । उनीहरुले अवैध रुपले संकलन गरेर राखेको ढुंगा डिभिजन वन कार्यालयले जफत गर्नुपर्ने माग गरेका छन् । चुरे क्षेत्रमा रहेका केहि सामुदायिक वन समितीले समेत ढुंगा निकासी रोक्न सकेको छैनन् ।
रौतहटको चुरेक्षेत्रमा १५ भन्दाबढी सामुदायिक वन उपभोक्ता समिती छ । तर, वन उपभोगतmा समिति, डिभिजन वन, स्थानिय तह लगायतका सरोकारवाला निकायले चासो नदिँदा ढुंगा तस्करी बढेको स्थानियको आरोप छ । जिल्लाको धन्सर खोला देखी बागमती नदी सम्म करीव ३० किलोमिटर चुरे क्षेत्रमा २०६७ साल देखि चुरे संरक्षण कार्यक्रम संचालनमा छ । यसरी ढुंङ्गा तस्करी गर्ने ट्याक्टर मकवानपुर र रौतहटका रहेको स्थानिय बताउँछन् ।






