काठमाडौँ । सांसदहरुले सुन तस्करीमा संलग्नलाई कानुनी कारबाही गर्न, सहकारीपीडितको समस्या समाधान गर्न, वैदेशिक रोजगारीमा जानेलाई निःशूल्क तालिमको व्यवस्था गर्नेलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बेठकको विशेष समयमा बोल्दै उहाँहरुले सुन तस्करी, सहकारी ठगीलगायत गतिविधिलाई नियन्त्रण गर्दै सुशासन प्रवद्र्धनमा सरकार अग्रसर हुनुपर्ने माग गर्नुभयो । सांसद राजेन्द्रकुमार केसीले सहकारीपीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सुन तस्करीका आरोपितलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद सञ्जयकुमार गौतमले सुन तस्करीका आरोपितलाई कारबाही गर्न सरकार समक्ष माग गर्नुभयो ।
सांसद सूर्यबहादुर थापा क्षेत्रीले सुनको अबैध पैठारी तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गरी कार्यान्वयन गर्न सरकार समक्ष माग गर्नुभयो । सांसद रामप्रकाश चौधरीले सुन तस्करी प्रकरणमा मुछिएका सबैलाई कानुनी दायरामा ल्याइनुपर्ने बताउनुभयो । सांसद प्रेम सुवालले सुन तस्करीमा संलग्नलाई शीघ्र कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामेछानेलाई बुझाएको थियो । उक्त प्रतिवेदन उपप्रधानमन्त्री लामिछानेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाउनुभएको थियो ।




