काठमाडौँ। काठमाडौँ–तराईरमधेस दु्रतमार्ग (फास्ट ट्रयाक ) नेपाली सेनाले जिम्मा पाएको मुलुककै रणनीतिक मार्ग हो ।
फास्ट ट्रयाकको निर्माण वार्षिक लक्ष्यअनुसार भइरहेका नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसी बताउछद्धन । ‘वार्षिक लक्ष्यअनुसार नै निर्माण भइरहेको छ। कुनै–कुनै आयोजना निर्माणमा आर्थिक भौतिक समस्याहरू आएका छन्,’ केसी भन्छन्, ‘तर तिनलाई समाधान राज्यका विभिन्न निकायहरूले गर्ने भएकाले निर्माणमा ढिलाइ भइरहेको छ। हामीले त निर्माण व्यवस्थापनको जिम्मा लिने न हो।’
नेपाली सेनाले निर्माण सञ्चालन गरेका आयोजनाहरु मध्ये प्रमुख अर्थात राष्ट्रिय गौरवका आयोजना हो, काठमाडौँ–तराई –मधेस द्रुतमार्ग। यो निर्माण थालिएको ७ वर्ष पुगिसक्यो। तर सात वर्षमा यसको प्रगति जम्मा साढे ३७ प्रतिशत मात्र भएको छ ।
यस आयोजनाको २०८१ पुस मसान्तसम्म समष्टिगत भौतिक प्रगति ३७.६० र समष्टिगत वित्तीय प्रगति ३९.५६ प्रतिशत (मोबिलाइजेसनसहित) रहेको सेनाले जनाएको छ । यसको कुल लागत २ खर्ब ११ अर्ब ९३ करोड रहेकोमा हाल ७२ अर्ब ४१ करोड रुपैयाँ खर्च भइसकेको छ ।
सरकारले २०७४ साल वैशाख २१ गते चार वर्षमा सकिनेगरी यो आयोजना सेनालाई जिम्मा दिएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत २०७४ साल साउन २७ गते यो आयोजना औपचारिक रूपमा सेनालाई निर्माणको जिम्मा लगाइएको थियो।
सानो खोकनाबाट निस्कने बागमती नदी करिडोरबाट छैमले–गौसेल–माल्टा–बुडुने–छतिवन हुँदै यो सडक निजगढ पुगेपछि पूर्वपश्चिम राजमार्गमा जोडिनेछ। यसले काठमाडौँदेखि निजगढसम्मको दूरी १९३ किलोमिटरले घटाउँछ र यात्राको समय चार घण्टाभन्दा बढी बचत गर्ने अपेक्षा गरिएको छ।
यो सडक परियोजना (केटीएफटी) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सुसुङ इन्जिनियरिङ कम्पनी लिमिटेड दक्षिण कोरियाले तयार पारेको थियो भने सरकारले २०७६ भदौ १ गते स्वीकृत गरेको थियो।
चार वर्षमा सकिनेगरी यो आयोजना सेनालाई जिम्मा दिइए पनि उक्त अवधिमा नसकिने देखिएपछि २०७७ सालमा २०८० सम्मका लागि म्याद थप गरिएको थियो। तर पहिलो पटक म्याद थपिएको अवधिमा पनि निर्माण हुन नसकेपछि पुनः दोस्रो पटक २०८३ चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी म्याद थपिएको छ।
सानो खोकनाबाट निस्कने बागमती नदी करिडोरबाट छैमले–गौसेल–माल्टा–बुडुने–छतिवन हुँदै यो सडक निजगढ पुगेपछि पूर्वपश्चिम राजमार्गमा जोडिनेछ। यसले काठमाडौँदेखि निजगढसम्मको दूरी १९३ किलोमिटरले घटाउँछ र यात्राको समय चार घण्टाभन्दा बढी बचत गर्ने अपेक्षा गरिएको छ।
सेनाका अनुसार आयोजनाको समष्टिगत कार्ययोजनाअन्तर्गत १३ वटा निर्माण प्याकेजहरू रहेका छन्। तीमध्ये हालसम्म प्याकेज नं। १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनका चरणमा छन्।
यीबाहेक प्याकेज नं। ११ अन्तर्गत पर्ने खोकना–बुङ्गमती खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्या छ। साथै द्रुतमार्गको सुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय गर्न बाँकी नै रहेकाले खरिद प्रक्रिया हुन पनि बाँकी छ।
आयोजनका लागि कुल अधिग्रहण आवश्यक जग्गा करिब १७ हजार ६ सय ५१ रोपनी हो। जसमध्ये १२ हजार १ सय ६४ रोपनी सार्वजनिकअन्तर्गत पर्दछ भने ५ हजार ४ सय ८७ रोपनी व्यक्तिगत जग्गा छ।
हालसम्म ५ हजार २ सय ४ रोपनी व्यक्तिगत जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन भएकोमा ४ हजार ८ सय १८ रोपनी अधिग्रहण सम्पन्न भइसकेको र ३ सय ८८ रोपनी अधिग्रहण बाँकी रहेको अवस्था छ। अधिग्रहण बाँकी उक्त जग्गामध्ये खोकना–बुङ्मती खण्डको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी २ सय ३ रोपनी जग्गा छ।
यसैगरी मूल्य निर्धारण हुन बाँकी १ सय ६५ रोपनीसहित करिब ३ सय ६८ रोपनी तथा मकवानपुर जिल्लामा १६ रोपनी र काठमाडौँमा ४ रोपनी जग्गा अधिग्रहण नै हुन बाँकी छ।
अधिग्रहण हुन बाँकीमध्ये २ सय ३ रोपनी खोकना–बुङ्मती खण्डको मुआब्जा वितरणमा स्थानीयसँग विवाद हुँदा काम अघि बढ्न नसकेको सेनाका प्रवक्ता केसी बताउँछन्।
‘त्यहाँ ऐतिहासिक, धार्मिकस्थल भएकाले आयोजना निर्माण गर्न नहुने स्थानीयले माग गरेका छन्,’ प्रवक्ता केसी भन्छन्, ‘त्यहाँको समस्या समाधानका लागि समिति बनेको छ। विवाद मिलाउने काम अघि बढिरहेको छ।’
फास्ट ट्र्याक आयोजनाअन्तर्गत जम्मा सात वटा सुरुङमार्गको कुल लम्बाइ १०।९७९ किलोमिटर छ। जसमध्ये धेद्रे सुरुङ, लेनडाँडा सुरुङका टनेलको ब्रेक थ्रु भइसकेको छ। धेद्रे सुरुङको कुल लम्बाइ १ हजार ६ सय ९१ मिटर हो, जसको दायाँ टनेलको लम्बाइ १ हजार ६ सय ५३ मिटर र बायाँ टनेल १ हजार २ सय २८ मिटर छिचोलिएको छ।
यसैगरी लेन डाँडा सुरुङको कुल लम्बाइ १ हजार ६ सय २३ मिटर छ। जसको दायाँ टनेल १ हजार ६ सय १२ मिटर र बायाँ टनेल १ हजार ६ सय ३३ मिटर छिचोलिएको छ। महादेवटार सुरुङको कुल लम्बाइ ३ हजार ३ सय ५५ मिटर हो, जसको दायाँ टनेल ३ हजार ३ सय २२ मिटर रहेकोमा २ हजार २९ मिटर अर्थात् ६१ प्रतिशत र बायाँ टनेल ३ हजार ३ सय ८६ मिटरमध्ये २ हजार २ सय ८८ मिटर अर्थात् ६८ प्रतिशत खन्ने काम सम्पन्न भएको छ। चन्द्राम भीर सुरुङ २ हजार २ सय ५० मिटरमध्ये १८।७५ मिटर खन्ने कार्य सम्पन्न भएको छ।
यस्तै देवीचौर सुरुङ एक किलोमिटर, सिसौँटार सुरुङ ३ सय ९० मिटर खरिद सम्झौता सम्पन्न भई डिजाइनको क्रममा छ। मौरीभीर सुरुङ ५ सय ८३ मिटर छ। उक्त सुरुङ खरिद सम्झौता सम्पन्न भई डिजाइनको क्रममा रहेको र २०८१ कार्तिक २५ गते मन्त्रिपरिषद्को निर्णयबमोजिम स्वीकृत भइसकेको सेनाले जनाएको छ।
यस आयोजनाअन्तर्गत पर्ने ८९ स्थानमा रहेका पुलमध्ये ८५ स्थानका पुलहरू निर्माणका लागि खरिद सम्झौता सम्पन्न भएका छन्। हालसम्म मकवानपुरको राजदमार इलाकामा ५ वटा पुलहरूको निर्माण सम्पन्न भएका छन्। अन्य स्थानमा ८१ मिटरसम्म उचाइ रहेका विभिन्न प्रकृतिका पुलहरूका फाउन्डेसन तथा सबस्ट्रक्चर तथा सुपर स्ट्रकचर निर्माण सम्पन्न भएको छ। साथै ३६ हजार १७९ वटा विभिन्न प्रजातिका रूखहरू कटान र ७ लाख ५ हजार ५ सय २२ वटा बिरुवा रोप्ने कार्य पनि सम्पन्न भइसकेका छन्।






