स्ववियु निर्वाचनः राराबमा भएन दलदर्ता, बोलाइएको वार्तामा आएन विद्यार्थी संगठन



जनकपुरधाम, फागुन २० । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनकालागि फागुन १९ गते दलदर्ता प्रक्रिया रहेपनि जनकपुरधाम स्थित राम स्वरुप राम सागर बहुमुखी (राराब) क्याम्पसमा दलदर्ता हुन सकेन ।

विभन्न मागहरु राख्दै विद्यार्थी संघ संगठनहरुले आन्दोलन गरेपछि यहाँ स्थितका राराब क्याम्पसमा स्ववियु निर्वाचनकालागि गठन गरिएको निर्वाचन समितिले फागुन २० गते आज ती संघ संगठनलाई बार्ताकालागि बोलाएका थिए । विहान ८ बजे बार्ताकालागि बोलाइएको भए पनि ती संघ संगठनहरु बार्तामा नआएको निर्वाचन समितिका सदस्य सचिव गुलजार राउतले जानकारी दिए ।

मधेश टुडे संग कुराकानी गर्दै सदस्य सचिव राउतले भने–‘विहान ८ बजेकोलागि निर्वाचन समितिले बार्तामा बसेर समस्या समाधानकालागि बोलाएको थियो, तर, एक दुई संगठन बाहेकका संगठनहरु आएको छैन्, उनीहरुलाई पनि बार्तामा बसाउने प्रयास भई रहेको छ ।’

स्ववियु निर्वाचनमा खास गरी राराब क्याम्पसमा ठूला दल र ठूला नेताहरुको चासो हुन्छ । उनीहरु जसरी पनि आफ्नो पार्टीको स्ववियु पदाधिकारीहरुलाई जिताउन मरिहत्ते गर्ने गरेका हुन्छ । राराब क्याम्पसमै सयौं फर्जी विद्यार्थीहरु भर्ना देखि लिएर फर्जी मतदान हुने सम्भावना रहेको भन्दै विद्यार्थीहरु आन्दोलित छन् ।

उनीहरुले आफ्नो माग पुरा नभए सम्म हामी निर्वाचन प्रक्रियामा नजाने समाजवादीविद्यार्थी युनियन नेपालका केन्द्रिय सचिब विकास यादव बताउँछन् । उनले भने–‘हाम्रो माग प्रति निर्वाचन समिति गम्भीर छैन्, हाम्रो माग पुरा नभए आन्दोलन जारी राख्छौ ।’

राराब क्याम्पसमा लोकतान्त्रिक विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन नेपाल, नेपाल विद्यार्थी संघ , जनमत विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी मञ्च लगायतका विद्यार्थी संघ संगठनहरु आन्दोलनमा छन् ।

यस्तो छ स्ववियु निर्वाचन कार्यतालिका

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु गरेको छ ।

त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो । “विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठनको नाम निर्वाचनका लागि दर्ता गराउनुभएको छ”, उहाँले भन्नुभयो, “विगतभन्दा धेरै क्याम्पसमा यसपटक निर्वाचन हुन्छ ।”

निर्वाचन कार्यतालिकाअनुसार भोलि फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने र फागुन २७ गते बिहान ११ देखि २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता गरिने छ । त्रिविले मतदान आगामी चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले निर्वाचनका लागि सबै क्याम्पसमा आफ्नो सङ्गठनको मनोनयन गरिएको जानकारी दिनुभयो । यस्तै, नेपाल विद्यार्थी सङ्घका प्रवक्ता सुरज सेजुवालले पनि सबै क्याम्पसमा सङ्गठनको नाम दर्ता गराइएको बताउनुभयो ।

अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव रोशन मगरले देशभर नै निर्वाचन हुने क्याम्पसमा सङ्गठन दर्ता गरिएको जानकारी दिनुयभो । यसअघि त्रिविले ‘स्ववियु निर्वाचसम्बन्धी निर्देशिका’ आचारसंहिता जारी गरिसकेको छ । चैत ५ गते एकै दिन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचनमा हुने छ । निर्वाचनमा २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन २०, मंगलवार ०९:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको