एजेन्सी, बैशाख ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई ठूलो झट्का दिने तयारी गरिरहेका छन् । युक्रेनसँगको शान्ति सम्झौता अन्तर्गत, अमेरिका क्रिमियामाथि रूसी नियन्त्रणलाई मान्यता दिन तयारी गरेको छ । युद्धविरामको प्रस्तावित रूपरेखासँग परिचित एक अधिकारीले यो जानकारी साझा गरेका छन ।
रुसले २०१४ मा क्रिमिया कब्जा गरेको थियो । त्यसअघि यो भाग युक्रेनसँग थियो । जेलेन्स्कीले धेरै पटक क्रिमिया रुसलाई हस्तान्तरण गर्न अस्वीकार गरे । डोनाल्ड ट्रम्प युक्रेन र रुसबीच शान्ति सम्झौता चाहन्छन् । शान्ति प्रस्तावमा दुई देशहरू बीच तत्काल युद्धविराम समावेश छ। बिहीबार पेरिसमा युक्रेनी र युरोपेली अधिकारीहरूसँग पनि रूपरेखा साझा गरिएको थियो ।
सीएनएनले आफ्ना स्रोतहरूलाई उद्धृत गर्दै यस प्रस्तावको बारेमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच फोनमा कुराकानी भएको जनाएको छ। प्रस्तावका केही भागहरू हाल छलफलको क्रममा छन्। अमेरिकाले अर्को हप्ता लन्डनमा युरोप र युक्रेनसँग वार्ता गर्नेछ।
संयुक्त राज्य अमेरिकाले बिहीबार पेरिसमा आफ्ना सहयोगीहरूलाई शान्ति प्रस्तावको रूपरेखा प्रस्तुत गरेको छ । यसमा स्थायी युद्धविराम भएमा युद्ध अन्त्य गर्ने र मस्कोमाथिको प्रतिबन्ध खुकुलो पार्ने सर्त समावेश छ। यदि अमेरिकाले क्रिमियामाथिको रूसी कब्जालाई मान्यता दियो भने, यो भ्लादिमिर पुटिनको लागि उपहार हुनेछ। रुसले लामो समयदेखि अन्तर्राष्ट्रिय समुदायले क्रिमियामाथिको रुसी कब्जालाई मान्यता देओस् भन्ने चाहना राख्दै आएको छ।




