मलंगवा, बैशाख ७ । दुग्ध विकास संस्थान (डिडिसी) ले मधेश प्रदेशमा पहिलो पटक साझेदारी पसल संचालनमा ल्याएको छ ।
उपभोक्तामाझ सर्वसुलभरुपमा गुणस्तरीय दुुग्ध पदार्थ बिक्री गर्ने उद्देश्यले डिडिसीले प्रदेशभरमा पहिलो पटक सर्लाहीको प्रमुख व्यापारिकस्थल लालबन्दीमा साझेदारी पसल संचालनमा ल्याएको हो । लालबन्दी नगरपालिका–७, स्थित लालबन्दी बजारमा लक्ष्मी इन्टरप्राइजेजसँग समन्वय गरी स्थापना गरिएको साझेदारी पसलको आज बिहान मधेश प्रदेश सभा सदस्य बेची लुुंगेलीले उद्घाटन गरेकी छन् ।
दुुग्ध विकास संस्थान जनकपुर अन्तर्गत दुुग्ध वितरण आयोजना ढल्केबरका आयोजना प्रमुख दिनेशकुमार जोशीले लक्ष्मी इन्टरप्राइजेजलाई बिक्रेता नियुक्त गरी यस क्षेत्रमा डिडिसीले उत्पादन गरेको दुध तथा दुग्धजन्य सामग्रीको बिक्री बढाउने उद्देश्यले साझेदारी पसल खोलिएको उज्यालो अभियानसँग बताए । लालबन्दी र आसपासका मार्ट तथा विभिन्न डिलरहरुलाई डिडिसीले बिक्री गर्दैै आइरहेको उत्पादन आगामी दिनमा साझेदारी पसलबाटै बिक्री गर्ने लक्ष्य रहेको आयोजना प्रमुख जोशीले बताएका छन् ।
जोशीका अनुसार संस्थानको तर्फबाट साझेदारी पसललाई दुुई थान फ्रिज समेत उपलब्ध गराइएको छ । उपभोक्ताले प्रशोधित दुध खान पाउने वातावरण मिलाउन र डिडिसीका उत्पादनहरुको बिक्री बढाउन साझेदारी पसलको अवधारण ल्याइएको आयोजना प्रमुख जोशीले बताएका छन् ।
डिडिसीले कुनै मिसावट नभएको र नेपाल सरकारको मापदण्ड भित्र रहेर तयार पारेको दुध, दही, घ्यू, पनिर, लालमोहन, रसपरी, लस्सी, खुवालगायतका दुुग्धपदार्थ ‘होम डेलिभरी’ र साझेदारी पसलमार्फत बिक्री गर्ने नयाँ अवधारणा ल्याएको हो ।
डिडिसीसँग समन्वय गरी साझेदारी पसल संचालनमा ल्याएका लक्ष्मी इन्टरप्राइजेजका सञ्चालक प्रकाश मानन्धरले डिडिसीसँगको साझेदारीमा सरकारी दुुग्धजन्य उत्पादन बिक्री गर्ने अवसर पाउँदा खुसी व्यक्त गरेका छन् ।






