जनकपुरधाम, बैशाख ११ । रोयल च्यालेन्जर्स बैंगलोरले आफ्नो घरेलु मैदान चिन्नास्वामी रंगशालामा सिजनको पहिलो खेल जितेको छ । टोलीले राजस्थान रोयल्सलाई ११ रनले पराजित गरेको छ । १९ औं ओभरमा जोश हेजलवुडले केवल १ रन दिए तर ओभरमा २ विकेट लिएर खेललाई उल्ट्याए । हेजलवुडले ३३ रन खर्चेर ४ विकेट लिए।
शुक्रबार बेंगलुरुमा भएको खेलमा आरआरले टस जितेर बलिङ रोज्यो । आरसीबीले ५ विकेट गुमाएर २०५ रन बनाएको थियो । जवाफमा राजस्थानले ९ विकेट गुमाउँदै १९४ रन मात्र बनाउन सक्यो । यशस्वी जैसवालले ४९ र ध्रुव जुरेलले ४७ रन बनाए । सन्दीप शर्माले २ विकेट लिए । बैंगलोरका लागि विराट कोहली र देवदत्त पडिकलले अर्धशतक बनाए । कृणाल पाण्ड्याले २ विकेट लिए।




