यात्रु बोक्ने अटोबाट गाँजा तस्करी गर्दै गरेका एक जना पक्राउ, एक फरार



राजविराज, बैशाख १७ । सप्तरीको दुई छुट्टा–छुट्टै स्थानमा अटोबाट प्रहरीले १ सय ३८ केजी प्रतिबन्धित लागु औषध गाजा बरामद गरेको छ । प्रहरीका अनुसार बुधवार दिउँसो तीन बजेतिर हुलाकी मार्ग अन्तर्गत सप्तरीको तिरहुत गाउँपालिका २ बडहरा सडक खण्डमा इलाका प्रहरी कार्यालय कञ्चपुरबाट प्रहरी निरिक्षक लेख बहादुर विष्टको कमाण्डमा खटेको टोलीले चेक जाँचको क्रममा प्र ०१–०२–००३ ह २९३४ नम्बरको अटोबाट ५८ केजी प्रतिबन्धित लागु औषध गाजा बरामद गरेको हो ।

गाजा तस्करीका लागि प्रयोग गरिएको सो अटोको चालक उदयपुरको बेलका नगरपालिका ३ बस्ने ४१ वर्षिय जयराम दाहाललाई समेत नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कञ्चपुरका प्रहरी नायव उपरिक्षक माधव काफ्लेले जानकारी दिए । उनलाई बुधवार नै सप्तरी जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको उनले जनाएका छन् ।

यस्तै अघिल्लो दिन मंगलवार राती ९ बजेतिर पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिकाको बरमझिया सडक खण्डमा प्रहरी निरिक्षक विष्ट नेतृत्वकै प्रहरी टोलीले चेक जाँचको क्रममा स १ ह १७१६ नम्बरको अटोबाट ८० केजी गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

यात्रुलाई ओरालेर चेक जाँच गर्ने क्रममा अटो चालक भने फरार भएको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यात्रु बोक्ने अटोमा गाजा ओसार पोसार गर्दा प्रहरीले शंका नगर्ने ठानेर अटो चालकले यसरी गाजाको तस्करी गर्न थालेको पाइएपछि निगरानी बढाइएको प्रहरीको भनाई छ ।केही महिना अघि मात्र सप्तरी प्रहरीले बालुवा गिट्टी बोक्ने टिपर, भाडामा संचालन हुने स्कार्पियो तथा एक गोदाम घरबाट गरी ३ हजार केजीभन्दा बढी प्रतिबन्धित लागु औषध गाजा बरामद गरेको थियो ।

प्रकाशित मिति: २०८२ बैशाख १७, बुधवार २०:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको