व्यवस्था बदलिए पनि अवस्था बदलिएन : उपेन्द्र यादव



रुपन्देही, वैशाख १९ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा पटक पटक व्यवस्था बदलिए पनि अवस्था नबदलिएको बताएका छन् ।

उनले मुलुकमा निरकुंशता हटेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र आए पनि शासक पुरानै रहेको बताए । जसपा नेपाल रुपन्देही एकताको प्रथम जिल्ला अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै अध्यक्ष यादवले नयाँ व्यवस्थामा पुरानै शासक भएकाले कसरी अवस्था बदलिन्छ भन्दै प्रश्न गरे ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले जनसङ्ख्याको आधारमा प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए । उनले दलित समुदाय र महिलाको नाम मात्रको प्रतिनिधित्व भएको बताए ।

मधेशमा राज्यको न्यून बजेट भएको भन्दै उनले विकास दक्षिणबाट सुरु गरी उत्तर पुग्नुपर्नेमा जोड दिए ।शासक वर्ग जसले सयौँ वर्षदेखि शोषण, भेदभाव र उपेक्षा गर्दै आएका छन्, चुनावमा उनीहरूलाई भोट दिएर सत्तामा पुर्‍याइरहेको बताए ।

त्यस्तै पार्टीका महासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्माले प्रदेश सरकारलाई कमजोर बनाइएको बताए । उनले वर्तमान सरकार सङ्घीयताप्रति इमानदार नभएको बताए । उनले संविधान संशोधन र पुनर्लेखन नभए आन्दोलनको तयारी गर्नुपर्ने बताए ।

कार्यक्रममा पूर्व रक्षा राज्यमन्त्री रामवचन यादव, जसपा नेपालका केन्द्रीय सदस्य सावित्रा विश्वकर्मा, पार्टीका नेता कैलाश गुरुङ, लुम्बिनी प्रदेश कार्यवाहक अध्यक्ष रामअवतार यादव, प्रदेश कोषाध्यक्ष एवं रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव लगायत बोलेका थिए

प्रकाशित मिति: २०८२ बैशाख १९, शुक्रबार १९:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको