जनकपुरधाम ,बैशाख २० । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवम पुर्व उपप्रधान मन्त्री ईश्वर पोखरेलले जननिर्वाचित शासन व्यवस्था एमालेको बटम लाइन रहेको बताएका छन ।
नेकपा एमाले धनुषा जिल्ला अधिवेशनको समुदघाटन सत्रलाई शनिबार जनकपुरधाममा सम्बोधन गर्दै पोखरेलले हुकुमी शासन व्यवस्था वा वंश परम्परामा अधारित शासन व्यवस्था एमालेलाई कहिले पनि स्वीकार्य नहुने बताए ।
मुलुक संकटमा रहेको वेलामा काँग्रेस र एमाले बीच सहकार्य भएको उल्लेख गर्दै पोखरेलले पटक पटक सरकार परिवर्तनको खेलले मुलुकमा राजनीतिक अस्थिरता निम्तिए पछि स्थायित्व दिनका लागि आफुहरु नेपाली काँग्रेस सँग सहकार्य गरेको स्पष्ट पारे । उनले २००७ सालमा राणाको विरुद्ध काँग्रेस सँग सहकार्य गरेको एमालेले २०१५ सालमा काँग्रेस सँग प्रतिस्पर्धा गरेको र २०१७ सालमा पंचायती व्यवस्थाको विरुद्ध , २०४७ सालमा राजाको विरुद्ध र २०७२ सालमा संविधान जारी गर्ने वेला काँग्रेस र एमाले विचमा सहकार्य भएको स्मरण गराउदै काँगे्रस सँगको सहकार्य र प्रतिस्पर्धा दुवै एक साथ अघि बढने स्पष्ट पारे ।
उनले नेपाली काँग्रेस सँग यतिवेला सहकार्य भएपनि २०८४ सालमा हुने निर्वाचनमा फेरी काँग्रेस सँगै प्रतिस्पर्धा हुने बताए ।
कार्यक्रममा नेकपा एमालेका सचिव एवम पुर्व उपप्रधानमन्त्री रघुविर महासेठले संघिय लोकतान्त्रिक गणतन्त्र आएपछि विभिन्न क्षेत्रमा विकासले गति लिएको भन्दै एमाले मधेश मैत्री र विकास मैत्री पार्टी रहेको दावी गरे । गणतन्त्रबादी शक्तिले विकास गरेन भन्ने कुरा राजावादीले झुठो प्रचारवाजी गरिरहेको दावी समेत गरे ।
नेकपा एमालेका जिल्ला अध्यक्ष राज किशोर यादवको अध्यक्षतामा भएको उद्घाटनसत्रमा नेकपा एमालेका मधेश प्रदेश इन्र्चाज लिलानाथ श्रेष्ठ , पोलिटव्युरो सदस्य जुली कुमारी महतो , प्रदेश अध्यक्ष चन्देश्वर मण्डल सहितकाले आ—आफनो धारणा राख्दै अधिबेशन सफलताको शुभकामना दिएका थिए ।
छ सय भन्दा बढी प्रतिनिधि सहभागि रहेको अधिबेशनको बन्दशत्र आइतबार बिहान ८ वजे बाट संचालन हुने छ । पाँच पदाधिकारी सहित १३५ जनाको जिल्ला कार्यसमितिका लागि शुरुमा सहमतिको लागि प्रयास गरिने र सहमति नभए निर्वाचन प्रक्रियावाट नेतृत्व चयन हुने बताइएको छ ।




