जनकपुरधाम, बैशाख ३१ । वैदेशिक रोजगारीबाट फर्किएका नागरिकहरूलाई समाजमा पुनःस्थापित गर्ने उद्देश्यसहित मुखियापट्टी मुसहरनिया गाउँपालिकाले रेमि परियोजनाको शुभारम्भ गरिएको छ । श्री बैदेजको सभाहलमा आज आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा वडाध्यक्ष, निजी क्षेत्र, सरोकारवाला निकाय र स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता गरेका गाउँपालिका अध्यक्ष जय कुमार यादवले विदेशबाट फर्किएपछि बेरोजगार बनेका युवाहरूलाई व्यवस्थित रूपमा पुनःस्थापना गर्ने यो प्रयास ऐतिहासिक भएको टिप्पणी गरे ।
वडा- ४ का अध्यक्ष उदय चन्द्र झाले कानुनी बाधा नआएमा आफ्नो वडाबाट रेमि परियोजनाका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरे। ‘ूयो परियोजना विदेशी भूमि फर्केका युवाहरूको जीवनमा सकारात्मक मोड ल्याउनेछ, हामी पूर्ण साथ दिन्छौं’ उनले भने।
त्यस्तै, वडा- ५ का अध्यक्ष कैलाश यादवले पनि पूर्ण सहकार्यको प्रतिबद्धता जनाए। उनका अनुसार रेमि गाउँपालिकाका लागि मात्र नभइ, मधेस प्रदेशमै उदाहरणीय कार्यक्रम बन्ने सम्भावना बोकेको छ ।
किन महत्वपूर्ण छ रेमि ?
नेपालमा लाखौं युवा वैदेशिक रोजगारीमा गएका छन्। तर फर्किएपछि उनीहरूलाई न नीति निर्माणकर्ताले समेट्छन्, न त कार्यक्रम नै पाइन्छन्। यस्ता युवाको क्षमता र अनुभवलाई समाजमै प्रयोग गर्न सकिने सम्भावना हुँदाहुँदै, उनीहरू बेकामे बन्नुपरेको अवस्था छ।
रेमि परियोजना यिनै चुनौतीहरूको उत्तर खोज्ने कोशिस हो। यस परियोजनाले फर्किएका युवाहरूलाई उद्यमशीलता, सिप विकास, आत्मनिर्भरता र आर्थिक पहुँच विस्तारतर्फ डोर्याउने लक्ष्य राखेको छ।
प्रतीकात्मक हो वा दीर्घकालीन ?
स्थानीय तहबाटै यस्ता कार्यक्रम सुरु हुनु आफैंमा नीतिगत रूपमा सन्देशमूलक हो। तर प्रश्न उठ्छ— के यो प्रयास प्रतीकात्मक मात्रै हुनेछ, कि दीर्घकालीन प्रभाव पार्ने खालको संरचना बन्न सक्नेछरु
यदि वडास्तरको प्रतिबद्धता, निजी क्षेत्रको सहकार्य र स्थानीय नेतृत्वको दृष्टिकोण स्थायीत्वतर्फ उन्मुख रह्यो भने, मुखियापट्टी मुसहरनियाको यो प्रयासले मधेस मात्रै होइन, देशभरका स्थानीय तहहरूका लागि नयाँ दृष्टिकोण दिन सक्छ।
तर दीर्घकालीन प्रभावका लागि नियमित अनुगमन, पारदर्शिता, र सहभागीको सक्रियता अनिवार्य हुनेछ।




