राजविराज, जेठ ७ । मधेश प्रदेशको आमसञ्चार प्राधिकरणले विगतका महत्वपुर्ण निर्णयलाई कार्यान्वयनमा निरन्तरता तथा थप आवश्यक कार्यक्रम अघि बढाउन यहाँका संचारकर्मीहरु सित सुझाव लिएको छ ।
बुधवार सप्तरी सदरमुकाम राजविराजमा पत्रकारहरुसंग “परिचयात्मक कार्यक्रम” को आयोजना गरी प्राधिकरणद्वारा यसरी सुझाव संकलन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका नवनियुक्त अध्यक्ष जीतेन्द्र खडगाले आफ्नो कार्यकालमा मधेशका पत्रकारहरुको पेशागत हकहितको सुरक्षा, सम्मान, संरक्षण, क्रियाशिल मिडीया हाउसहरुको उत्थान तथा पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागी प्रदेशको ८ वटै जिल्लामा सुझाव संकलन कार्यक्रम संचालन गरेको बताए ।
नवनियुक्त अध्यक्ष खडगा सप्तरी कै हुन । अन्य जिल्लामा उक्त कार्यक्रम सम्पन्न गर्दै अन्त्यमा आफ्नो गृह जिल्लामा यस्तो कार्यक्रम गरिएको बताएका उनले पत्रकारिता क्षेलाई अझ विश्वसनीय, भरपर्दाे र गुणस्तरीय बनाउन सम्बन्धित सबै पक्षको सुझाव लिएर आफुले काम गर्ने प्रतिबद्धता जनाए ।
उनले सुचना प्रविधीको विकाससंगै सत्य, तथ्य र आधिकारीक समाचार मार्फत समाजलाई सुसूचित गर्ने आमसञ्चार माध्यमलाई सहि ढंगबाट अघि बढाउने जिम्मेवारी विशेष गरी पत्रकारिता क्षेत्र कै रहेको भन्दै यस क्षेत्रमा लागेका सबै अझ जिम्मेवार भइ काम गर्नू पर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी पत्रकारहरुले पत्रकारहरुको जिवन विमा, ज्येष्ठ पत्रकारहरुलाई पेन्सन, पत्रकारको सुरक्षा, सम्मान, अनलाईन मिडियाहरुको वर्गीकरण, मधेशका स्थानीय तहहरुद्वारा मिडिया ऐन ल्याउनका लागी पहल, स्थानीयस्तरका मिडियालाई प्रोत्साहन गर्न विभिन्न नीति निर्माण लगायतका कार्य अघि बढाउन सुझाव दिएका थिए ।
कार्यक्रममा प्राधिकरणका निर्वतमान अध्यक्ष श्यामसुन्दर यादवले आफ्नो कार्यकालमा भोग्नु परेको समस्याबारे अनुभव सुनाउँदै प्राधिकरणका नव नियुक्त अध्यक्षलाई पत्रकारीता क्षेत्रको विकासका लागी गर्ने हरेक कार्यमा साथ र सहयोग गर्ने प्रतिबद्धता जनाउदै शुभकामना दिएका थिए ।
सप्तरी पत्रकार महासंघका पूर्व सभापती समेत रहेका प्राधिकरण अध्यक्ष खडगालाई सो अवसरमा यहाँका पत्रकारहरुले खादा ओढाएर सम्मान गर्नूका साथै सफल कार्यकालको शुभकामना दिएका थिए ।




