मधेश केन्द्रित मोर्चाद्वारा भूमि विधेयकको विरोध, फिर्ता लिन सरकार संग आग्रह



जनकपुरधाम, जेठ ७ । संयुक्त लोकतान्त्रिक मोर्चाले सरकारले हालै संसदमा दर्ता गराएको भूमि विधेयक विरोध गर्दै सरकार संग फिर्ता लिन आग्रह गरेको छ ।

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको अध्यक्षतामा आज बसेको मोर्चाका शीर्ष नेताहरुको बैठकले भूमि सम्बन्धि अध्यादेश मधेश विरोधी रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

भूमिहिन सुकुम्बासीहरुको समस्या समाधानको लागि हालकै कानून पर्याप्त रहेको भन्दै मोर्चाले भूमि सम्बन्धि हालको अध्यादेशले भूमाफिया, , रियल स्टेट, भूमि दलाल, भ्रष्टाचारी , वन तस्करलाई मात्र लाभ पुग्ने जिकिर गरेको छ ।

संविधानले भूमि सम्बन्धि अधिकार प्रदेशलाई दिएको अवस्थामा प्रदेशको अधिकारलाई संकुचित गर्ने गरि सरकारले ल्याएको भूमि सम्बन्धि विधेयक संविधानको प्रतिकुल एवं असंवैधानिक समेत रहेको मोर्चालेृ जनाएको छ ।

मोर्चाको तर्फ बाट डा. राउतले विज्ञप्ति जारी गर्दै विधेयक कानूनको रुप धारण गरे मधेशको वन जंगल नाश भई पर्यावरण संकट उत्पन्न हुने र जैविक विविधता नष्ट भई तराई मधेश मरुभूमिकरण हुने, तराई मधेशमा बसाई सराईका कारण अत्यधिक जनसंख्या वृद्धि भई भयावह स्थिति उत्पन्न हुने जनाएको छ ।

सरकारले यस अघि ल्याएको भूमि सम्बन्धि अध्यादेशमा जनता समाजवादी पार्टीले विरोध गरेका कारण राष्ट्रिय सभाबाट पारित नहुने अवस्था उत्पन्न भएपछि सरकारले अध्यादेश फिर्ता लिन बाध्य भएको थियो ।

बैठकमा मोर्चाका शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, हृदयेश त्रिपाठी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०८२ जेष्ठ ७, बुधबार १९:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको