महिनौदेखि गुजरा प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा कामकाज ठप्प



ओम प्रकाश यादव
रौतहट, जेठ ८ । रौतहटको गुजरा नगरपालिका महिनौदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदा नगरपालिकाको कामकाज ठप्प रहेको छ। एक महिना भन्दा बढी दिनदेखि प्रशासकीय अधिकृत नहुँदा नगरको कामकाज प्रभावित भएको छ।

सो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएपछि नगरको प्रशासनिक कामकाज प्रभावित भएको छ । वैशाख २१ गते प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको भए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालसम्म नयाँ अधिकृत पठाएको छैन् ।

बजेट निर्माणदेखि भुक्तानी प्रक्रिया सुरु हुने यो महत्त्वपूर्ण समयमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकामा सबै काम ठप्प भएको नगर प्रमुख सन्तलाल चौधरीले बताए । “हामीले मन्त्रालयमा पटक–पटक अनुरोध गरिरहेका छौं, तर अहिलेसम्म कसैलाई पठाइएको छैन,” उनले भने, “नगरवासीको सेवा र विकास निर्माणका काम प्रभावित भएका छन्।” उनी भन्छन्(हाकिम सरूवा गर्ने अधिकार मन्त्रालयको हो भने हाकिम पठाउने जिम्मा पनि उसैको हो । तर हाकिम अहिलेसम्म पठाइएको छैन् । कस्तो बिडम्बना हो ।

नगरपालिकामा अहिले चालु आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा योजनाको मूल्यांकन, भुक्तानी, तथा आगामी वर्षको बजेट निर्माणका कार्यहरू तिव्र रूपमा अघि बढाउनु पर्ने अवस्था छ । तर, कार्यालय प्रमुख नहुँदा निर्णय प्रक्रियामा बाधा आएको छ ।

स्थानीय तहका सरोकारवालाहरूले संघीय मन्त्रालयले यस्तो संवेदनशील समयमा अधिकृत नपठाएर नगरपालिकालाई अस्तव्यस्त बनाउने प्रयास गरेको आरोप लगाएका छन् । असार मसान्त आउन २५ दिन मात्र बाँकी रहँदा प्रमुख प्रशासकीय अधिकृतको अभावले समग्र नगर प्रशासनमा अन्योल उत्पन्न भएको छ ।

नगर प्रमुख चौधरीले मन्त्रालयमा पत्राचार र भेटघाटमार्फत प्रमुख प्रशासकीय अधिकृत चाँडै पठाउन पहल भइरहेको बताएका छन् ।

प्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहिवार ०७:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको