तनहुँ, जेठ ११ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका ३ र ४ जोड्ने मादी नदी पुलबाट गएराति जिप खस्दा तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार दुर्घटनामा व्यास–५ पाटन बस्ने अन्दाजी ३५ वर्षीय प्रवीण थापा मगर, सोही ठाउँ बस्ने २२ वर्षीय कुमार थापा र २०/२२ वर्षीय कुशल थापाको मृत्यु भएको हो।
दुर्घटनामा जिप चालक व्यास नगरपालिका-४ बस्ने २५ वर्षीय रोहित गुप्ता र वीरगन्ज घर भई दमौली बस्ने २० वर्षीय धीरज रौनियार घाइते भएका छन्।
घाइतेमध्ये धीरजलाई थप उपचारका लागि पोखरा पठाइएको छ। दुर्घटनाका घाइतेलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए।




