जनकपुरधाम, जेठ १२ । राजावादीहरुको आह्वानमा चैत १५ गते तीनकुनेमा भएको विरोध कार्यक्रमको जिम्मेवारी लिन बाट राजावादीहरु पन्छिन थालेका छन ।
चैत १५ अघि सम्ममा आयोजकत्वका लागि तछाडमछाड गर्दै आएका राजावादीहरु तीन कुने घटनापछि जिम्मेवारी लिन बाट पन्छिन थालेको हो । प्रहरीले तीनकुने घटनामा तीनजनालाई मुख्यदोषी ठहर गरि मुद्दा चलाएपछि उनिहरु जिम्मेवारी लिन बाट पन्छिदै एक अर्कामाथि दोषारोपण गर्न थालेका हुन ।
राजावादी प्रदर्शनका ‘जनकमान्डर’ दुर्गा प्रसाईं, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबराले घटनामा एकअर्कालाई दोषारोपण गर्न थालेका हुन । । तोडफोड र आगजनीमा संलग्नले पनि नेताहरूको उक्साहटमा आफूहरू परेको बयान प्रहरीलाई दिएका छन् ।
‘जनकमान्डर’ प्रसाईंले तीनकुने प्रदर्शनको मुख्य जिम्मेवार ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीलगायत रहेको बयान प्रहरीलाई दिएका छन् । समितिको सदस्य तथा आन्दोलनको जनकमान्डर भई कार्यविभाजनको काम मात्र आफूले गरेको उनको जिकिर छ । ‘यसको मुख्य काम सबै संगठनलाई मिलाउने, विभिन्न संगठनलाई एक ठाउँमा व्यवस्थित बनाउने काम नवराज सुवेदी, जगमान गुरुङ, अस्मिता भण्डारी, रमा सिंह, कमल थापा, पशुपतिशमशेर राणालगायतका व्यक्तिहरूले गर्ने हुन्,’ उनले भनेका छन् ।
प्रसाईंले आन्दोलन परिचालन समितिका संयोजक जबराको मातहत रहेर जनआन्दोलन परिचालन गर्ने सहयोगी भूमिकामा मात्र आफू रहेको बयान दिएका छन् । ‘मेरो भूमिका आन्दोलनलाई अघि बढाउने हो । अरू मिलाउने भूमिका धवलशमशेर जबराको हो,’ उनको बयान छ । नेताका घरमा आगो लगाउनुपर्छ भनेर अभिव्यक्ति दिने व्यक्ति राप्रपाकै रहेको प्रसाईंको बयान छ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले १५ चैतको कार्यक्रम प्रसाईंको समूहले नै आयोजना गरेको बयान दिएका छन् । ‘दुर्गाजीकै अनुरोधमा १४ चैतमा पत्रकार सम्मेलन गरी समितिका संयोजक नवराज सुवेदीले प्रसाईंलाई जनकमान्डर घोषणा गर्नुभएको हो,’ उनले प्रहरीलाई भनेका छन्, ‘१५ चैतको कार्यक्रम मैले नेतृत्व गरेको होइन । सामाजिक सञ्जालमा मैले गरेको विश्लेषण र त्यस दिनको हिंसाको कुनै सम्बन्ध छैन । मेरो भूमिका अतिथिको थियो । कार्यक्रमको आयोजना, सञ्चालन र व्यवस्थापनमा मेरो कुनै भूमिका थिएन ।’
जबराले भने आफू संयोजक रहेको समितिको कार्य शान्तिपूर्ण आन्दोलनको संयोजन र परिचालन गर्ने रहेको बयान दिएका छन् । १५ चैतको कार्यक्रमको मूल आयोजक प्रसाईं नै भएको उनको पनि बयान छ । ‘म अतिथिको हैसियतमा सभामा मन्तव्य राख्ने उद्देश्यले सहभागी भएको हुँ । म र मेरो पार्टी हिंसात्मक प्रदर्शनको पक्षमा छैन,’ उनले भनेका छन् ।
तीनकुने घटनाको अनुसन्धानमा राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री जबरा पक्राउ परेर हाजिरी जमानीमा छुटेका थिए ।
जिल्ला अदालत काठमाडौंमा आइतबार उनीहरू दुवैविरुद्ध राज्यविरुद्ध, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ । अनवरत तत्पर फौज (एटीएफ) का अनुप राजावादी भनिने गोकर्ण शाहीले तीनकुने क्षेत्रमा तोडफोड र आगजनी गर्न आदेश दिने व्यक्ति ‘जनकमान्डर’ प्रसाईं, नेताहरू रवीन्द्र मिश्र, धवलशमशेर जबरालगायत रहेको बताएका छन् ।
काठमाडौंको तीनकुने क्षेत्रमा १५ चैतमा भएको हिंसात्मक घटनामा संलग्न भएको अभियोगमा ६१ जनाविरुद्ध आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा चलाइएको छ । १ सय ८ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएकामा जिल्ला सरकारी वकिलको कार्यालयले ६१ जनाविरुद्ध अभियोगपत्र दायर गरेको हो । अन्य चार नाबालकविरुद्ध भने सोमबार भक्तपुर बाल अदालतमा मुद्दा दर्ता गराउने तयारी छ ।
सरकारी वकिलको कार्यालयले राजावादी प्रदर्शनका ‘कमान्डर’ दुर्गाप्रसाद प्रसाईंलाई पाँच तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबराविरुद्ध चार–चार कसुरमा सजाय मागदाबी गरेको छ । जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका प्रसाईंलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रवतर्फ, कर्तव्य ज्यानतर्फ, ज्यान मार्ने उद्योग, संगठित अपराध र एकीकृत कसुरमा सजायको माग गरिएको छ । मिश्र र जबरामाथि भने राज्यविरुद्ध, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा अभियोग लगाइएको छ ।
राजावादी बीचको पछिल्लो आरोप प्रत्यारोपले अगामी जेठ १५को कार्यक्रम समेत प्रभावित हुने देखिएको छ ।




