काठमाण्डौं, जेठ १५ । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विरुद्ध आन्दोलनको घोषणा गरेको राजावादी संगठनहरुले पूर्व घोषित कार्यक्रम अनुसार आज काठमाण्डौमा प्रदर्शन गर्न लागेका छन ।
व्यवस्था विरुद्धको आन्दोलनका लागि गणतन्त्र दिवसकै दिन राजावादीहरुले प्रदर्शन गर्ने भएपछि काठमाण्डौमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै प्रहरीले उपत्यकामा ३८ सय जनशक्ति परिचालित गरेको छ ।
गणतन्त्र दिवस, मूल समारोह समितिको कार्यक्रमका लागि राष्ट्रपति रामचन्द्र पौडेल सैनिक मञ्च, टुँडिखेलमा पुगे लगत्तै उक्त संख्याको प्रहरी जनशक्ति तोकिएका स्थानमा तैनाथ भइसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । प्रहरी जनशक्ति नपुग भएपछि मकवानपुरस्थित विशेष सुरक्षा गण रातोमाटेबाट इन्स्पेक्टरको कमान्डमा थप टोली काठमाडौं उपत्यकामा परिचालित छ ।
त्यसबाहेक उपत्यकामा रहेका १ नम्बर, २ नम्बर, दंगा र पहरा गण, विभिन्न गुल्म, हेडक्वार्टरसहितका टोली सडकमा परिचालित भएका छन् । प्रहरी तैनाथीको कूल संख्या ३८ सय पुगेको प्रहरी स्रोतले जनायो ।
राजावादीहरु माथि कडा निगरानी
गणतन्त्र दिवसकै अवसर पारेर राजावादीहरु आन्दोलन गर्ने भएपछि प्रहरीले राजावादीहरुमाथि कडा निगरानी बढाएको छ ।
राजावादी समर्थक प्रदर्शनकारीलाई दिउँसो २ बजे सम्म जहाँको त्यहीँ रोकिने र त्यसपछि रत्नपार्कस्थित शान्तिबाटीका प्रवेश गर्न दिइने प्रशासनले जनाएको छ । तर, त्यसक्रममा निषेधित क्षेत्रमा प्रदर्शन गर्न नदिइने भएको छ । निषेधित क्षेत्र घोषणा नगरिए पनि गौशालाबाट सिनामंगल, तीनकुने क्षेत्रमा भिड जम्मा हुन नदिने सुरक्षा नीति छ ।
राजावादी समर्थकका प्रदर्शनकारीलाई सामान्यतया २ बजेभन्दा अगाडि चक्रपथ सडकबाट अगाडि बढ्न नदिइने, यदि चक्रपथभित्रका विभिन्न स्थानमा उनी जम्मा भएमा २ बजेसम्मका लागि जहाँको त्यहीँ रोकिने गरी प्रहरी परिचालित भएको छ ।




