काठमाण्डौ, जेठ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको निर्णय अधिकारलाई पुनः वंशमा आधारित हुकमी शासनमा परिणत गर्ने प्रयास सम्भव नरहेको बताएका छन ।
गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आजको दिन हुकुमी राजतन्त्रलाई परास्त गर्दै जनताको अधिकार स्थापित भएको दिन रहेको बताए ।
‘इतिहासका विभिन्न कालखण्डमा निरंकुश राजतन्त्र र जनताबीच संघर्ष र सम्झौताहरू भए । जनतासँग भएका सम्झौताहरूलाई पटक पटक तोडेको हुकुमी राजतन्त्रलाई परास्त गर्दै जनताले गणतन्त्र स्थापना गरेका थिए,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘जनताको निर्णय अधिकारलाई फेरि एउटा अभिजात वंशमा केन्द्रित गर्न खोज्ने प्रयास आज पनि भइरहेको छ ।’
तर, जनताको मतभन्दा शाही इशारा ठूलो हो भनेर किमार्थ भन्न नसकिने उनको भनाइ थियो ।
‘स्वतन्त्रताको अभ्यासमा हुर्केको आजको समाजले जनताको मतभन्दा शाही इशारा ठूलो हो किमार्थ भन्न सक्दैन । हजारौं शहीदको बलिदान र लाखौं नेपालीको सपनाभन्दा अढाइसय वर्षसम्म बदनाम शासन चलाएर देशलाई पछाौटे अवस्थामा पु¥याउने एउटा वंशको विशेषाधिकार कुुनै अर्थमा पनि ठूलो हुनै सक्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘स्वतन्त्रताको मलिलो जमिनमा उम्रिएको जनताको सपना दरबारको भित्तामा लगेर टाँस्सियोस्– कसैले भन्न सक्दैन ।’
त्यस्तै, सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले सार्वजनिक सूचना प्रणालीको लाभ लिएर निरंकुशतावादीहरू हिजोको अँध्यारोमा लुकेको फोहोरलाई सफा देखाउने दुश्प्रयासमा लागेको पनि बताए ।
‘सार्वजनिक सञ्चार प्रणालीको प्रतिबन्धका कारण निरंकुशतन्त्रमा गुपचुप हुने अपराध र भ्रष्टाचारउपर गणतन्त्रमा सार्वजनिक निगरानी र सार्वजनिक सूचना प्रणालीले जनतालाई न्यायाधीश बनाइदिएको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यसको लाभ लिएर निरंकुशतावादीहरुले हिजोको अंध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शीतालाई फोहोर सावित गर्ने दुश्प्रयास गरिरहेका छन् ।’




