क्वालालम्पुर, जेठ १९ । मलेसिया भ्रमणमा रहनु भएका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र मलेसियाको लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सेनाबीच नेपाली श्रमिकको समस्या बारे छलफल भएको छ।
राजदूत डा. तिमल्सेनाले अध्यक्ष यादवको सम्मानमा आइतबार राति आयोजना गर्नु भएको स्वागत भोज समारोहमा दुबै पक्षबीच रोजगार र श्रमिक समस्याको विविध आयाम बारे छलफल भएको हो।
छलफल भेटमा अध्यक्ष यादवले मलेसियामा कार्यरत नेपाली श्रमिकको जिउधन र रोजगारको सुरक्षा, कामका दौरान भोग्नु परेको अनेक समस्या समाधानको लागि तदरुकताका साथ पहल गर्न राजदूत तिमल्सेनालाई आग्रह गर्नु भएको छ।
राजदूत डा. तिमल्सेनाले नेपाली श्रमिकको समस्या बारे दूताबासले काम गरिरहेको र आगामी दिनमा थप प्रभावकारी ढंगले लाग्ने प्रतिबद्धता जाहेर गर्नु भयो।
उक्त स्वागत समारोहमा मलेसियन दूताबास परिवार, जसपा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, मधेस प्रदेश सभा सदस्य तथा केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार गुप्ता र सेन्टर फर साउथ एसियन स्टडिज काठमाडौंका निर्देशक डा. निश्चलनाथ पाण्डे र जसपा नेपाल निकट नेपाली समाज मलेसियाको नवनिर्वाचित अध्यक्ष बिनोद कुमार यादव लगायतको उपस्थिति रहेको थियो।






