मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो छ : कांग्रेस महामन्त्री शर्मा



झापा, असार २ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो भएको औँल्याएका छन । धुलाबारी खानेपानी उपभोक्ता समितिको थप नयाँ ओभरहेड ट्याङ्की निर्माणको आज शिलान्यस गर्दै महामन्त्री शर्माले मुलुकमा सबै समस्याको समाधान गर्ने नेतृत्वको जरुरी भएको बताए ।

उनले प्रत्येक चुनावले नयाँ सरकार बनाउने तर प्रधानमन्त्री चाहिँ पुरानै व्यक्ति हुने परिपाटीले नागरिकमा गुनासो र असन्तुष्टि बढिरहेको बताए । “यो दल, ऊ दल, यो गुट र ऊ गुटको होइन सिङ्गो राष्ट्रको अभिभावकको जरुरी छ,” उनले भन्नुभयो, “अब त्यसको हल हामी गर्छौं ।”

महामन्त्री शर्माले प्रधानमन्त्री मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो रहेकाले  केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८३ सालपछि अभिभावकीय भूमिका निर्वाह गर्नेगरी अवधारणा बनाउन आवश्यक रहेको बताए । उनले स्व टङ्कप्रसाद भट्टराईले दान दिनुभएको जग्गामा बन्न लागेको खानेपानीको ट्याङ्कीले मेचीनगर–९, १०, ११, १४ र वडा नं १५ का केही भागहरूमा समेत खानेपानी वितरण गर्न सहज हुने बताउनुभयो । झापा क्षेत्र नं १ मा मात्रै करिब रु एक अर्बको बजेटमा विभिन्न खानेपानीका योजनाहरू सञ्चालन भइरहेका उनको भनाइ छ ।

मेचीनगर नगरपालिका–९ मा रु १० करोड ४० लाख ९९ हजार ६४७ को लागतमा निर्माण हुने खानेपानी ट्याङ्कीको उनले शिलान्यस गरेका हुन । दुई कट्ठा १० धुर खानेपानी समितिले खरिद गरेको त्यति नै क्षेत्रफलको जग्गा भट्टराईले दान दिएपछि पाँच कट्ठा जमिनमा चार लाख ५० हजार लिटर पानी क्षमताको ओभरहेड ट्याङ्की र सुरक्षागार्ड बस्ने घरसहितको संरचनाको निर्माण हुन लागेको छ । विसंं २०८४ मङ्सिर ११ गते सम्पन्न गरिसक्नु पर्नेगरी ठेक्का लागेको धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकाजी खत्रीले बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद गोपाल तामाङ, मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका प्रमुख विकास काफ्ले, जग्गा दाता स्व टङ्कप्रसाद भट्टराईका बुबा पशुपति भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति: २०८२ असार २, सोमबार १५:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको