काठमाडौँ, असार २४ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुुझ्न त्यसतर्फ बाढी प्रभावित क्षेत्रमा जानुुभएको छ ।
प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल हुनुहुन्छ ।
यसैगरी नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरिक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभिागका प्रमुख हुतराज थापा पनि बाढी प्रभावित क्षेत्रमा जानुभएको छ ।
नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको छ । सम्पर्कविहीन भएका ३७ जनामध्ये हराइरहेका २२ जना सुरक्षित ठाउँमा सकुशल रहेकोे अन्य १५ जना सम्पर्कविहीन रहेको सहायक प्रजिअ दु्रवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
हराएका र फसेका व्यक्तिलाई उद्धार गर्न हेलिकप्टर तयारी रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिकूल मौसमका कारण रसुवाको आकाशमा हेलिकप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ भएको छ । हेलिकप्टर भने नुवाकोटको त्रिशूलीमा तयारी अवस्थामा राखिएको जनाएको छ ।




