एजेन्सी
पटना, असार २६ । बिहार विधानसभा चुनाव अगाबै आरजेडी प्रमुख लालु यादव जेल जान सक्ने भएका छन । विधानसभा चुनाव नजिकिँदै जाँदा राजनीतिक हलचल पनि तीव्र हुँदै गएको हो । यसैक्रममा आरजेडी अध्यक्ष लालु प्रसाद यादवमाथि पुनः कानुनी समस्या बढ्ने सम्भावना देखिएको छ। झारखण्ड उच्च अदालतले चारा घोटालासँग सम्बन्धित पुरानो मुद्दामा केन्द्रीय अनुसन्धान ब्यूरोको निवेदन स्वीकार गरेको छ, जसमा लालु यादवको सजाय बढाउन माग गरिएको छ ।
देवघर कोषागारबाट ८९ लाख रुपैयाँ अवैध रूपमा निकासी जस्तो गम्भीर मुद्दामा लालु प्रसाद यादवलाई दिइएको साढे तीन वर्षको सजाय धेरै कम भएको सिबिआईको तर्क छ । सिबिआईले यो अपराध सरकारी पैसा लुट्नु मात्र नभई जनताको विश्वासको घोर उल्लंघन समेत रहेको भन्दै दोषीहरूलाई अधिकतम सजाय दिएर बलियो सन्देश दिनुपर्ने दावी गरेका छन ।
यो मुद्दामा लालु यादवसँगै अन्य दुई अभियुक्त बेक जुलियस र सुधीर कुमार भट्टाचार्यलाई पनि सीबीआई विशेष अदालतले दोषी ठहराएर सोही अनुसारको सजाय सुनाएको थियो । तर अब सीबीआईले यो सजायलाई अपर्याप्त ठानेर चुनौती दिइरहेको छ ।
२०१९ देखि विचाराधीन मुद्दा
यो सम्पूर्ण मुद्दा २०१९ देखि विचाराधीन छ, जब सीबीआईले झारखण्ड उच्च अदालतमा सजाय बढाउन माग गर्दै निवेदन दायर गरेको थियो । अब अदालतले निवेदन स्वीकृत गरेपछि आरजेडी क्याम्पको चिन्ता बढेको छ, विशेष गरी चुनावको लागि केवल तीन महिना मात्र बाँकी रहेको बेला । यदि उच्च अदालतले सजाय बढाउने निर्णय गर्छ भने, यसले आरजेडी र लालु यादवको राजनीतिक रणनीतिमा गहिरो प्रभाव पार्न सक्छ।
हाल झारखण्ड उच्च अदालतको यो कदमले बिहारको राजनीतिमा गर्मी बढाएको छ । बिहार विधानसभा चुनाव अगाबै लालु जेल गए यो मुद्दा चुनावी बहसको ठूलो हिस्सा बन्न सक्छ।






