लालु यादवको व्यंग्य : “अब बिहार गुजरातबाट सञ्चालित भइरहेको छ”



एजेन्सी
पटना, साउन १ । राष्ट्रिय जनता दल (राजद) का सुप्रीमो लालु प्रसाद यादवले पुनः एकपटक बिहारको एनडीए सरकारमाथि व्यंग प्रहार गर्दै बिहार गुजरातबाट सञ्चालित भइ रहेको आरोप लगाएका छन । सामाजिक सञ्जाल ’एक्स’ मा उनले एआईको प्रयोग गरेर तयार गरिएको एउटा प्रतीकात्मक तस्बिर सार्वजनिक गर्दै वर्तमान बिहार सरकारलाई ’रिमोट कन्ट्रोल’ बाट सञ्चालित सरकारको संज्ञा दिएका छन्।

लालु यादवले शेयर गरेको तस्बिरमा मुख्यमन्त्री नितिश कुमार रस्सीमा बाँधिएका देखिन्छन्, जसको डोर एकतर्फ उपमुख्यमन्त्री विजय कुमार सिन्हाले तानेका छन् भने अर्कोतर्फ सम्राट चौधरीको हातमा छ । मुख्य डोर प्रधानमन्त्री नरेन्द्र मोदीको हातमा रहेको देखाइएको छ। तस्बिरको क्याप्सनमा लेखिएको छ — “अब बिहार गुजरातबाट सञ्चालित भइरहेको छ ।” साथै, तस्बिरमा मुख्यमन्त्री नितिशलाई ‘पपेट कुमार’ भन्दै व्यंग्य गरिएको छ ।

मुख्यमन्त्री नितिश कुमारको स्वास्थ्य अवस्थाबारे विपक्षीहरूले लगातार प्रश्न उठाउँदै आएका छन्। नेता प्रतिपक्ष तेजस्वी यादवले पटक–पटक दाबी गर्दै आएका छन् कि मुख्यमन्त्री अब सक्रिय रूपमा शासन गर्न सक्ने अवस्थामा छैनन्, र अहिलेको सरकार केही भ्रष्ट अधिकारीहरू र सत्तारूढ दलका कठपुतली नेताहरूको नियन्त्रणमा चलेको छ। यसै सन्दर्भमा लालु यादवले सार्वजनिक गरेको तस्बिरले अहिलेको सत्ता संरचनामाथि गम्भीर प्रश्न उठाएको छ।

लालुको तस्बिरको सन्देश स्पष्ट छ — बिहारको प्रशासनिक निर्णयहरू अब पटना होइन, दिल्ली वा गुजरातबाट ’रिमोट कन्ट्रोल’ प्रणालीमा सञ्चालित भइरहेका छन्। यसरी उनले सत्तारूढ गठबन्धनमा भारतीय जनता पार्टीको प्रभुत्व रहेको संकेत दिएका छन्।

लालु यादव यसअघि पनि कृत्रिम तस्बिरहरूको माध्यमबाट राजनीतिक व्यंग्य गर्दै आएका छन ्। १४ जुलाईमा उनले एक तस्बिर शेयर गरेका थिए, जसमा नितिश कुमारको हातमा ’लॉ एन्ड अर्डर ः बलात्कार, हत्या, चोरी, डकैती, भ्रष्टाचार’ लेखिएको पोस्टर थियो। त्यसैगरी प्रधानमन्त्री मोदीको हातमा रहेको पोस्टरमा लेखिएको थियो, ‘केंद्र की सत्ता बचा रहे हैं, बिहार को सता रहे हैं।’

यस पोस्टमार्फत लालुले प्रधानमन्त्रीमाथि केन्द्रको सत्ता जोगाउन बिहारको जनतालाई पीडा दिइरहेको आरोप लगाएका थिए। उनले लेखेका थिए — “वर्तमान और भविष्य भूल, इतिहास में जीने वाले प्राणी, अपना कुछ किया नहीं, दूसरों का किया कहा नहीं।” यसमार्फत उनले नितिश कुमारको विगतका उपलब्धिहरूको मात्र चर्चा गरिने तर हाल जनताले भोगिरहेको समस्यालाई नजरअन्दाज गरिएको आरोप लगाए।

लालु यादवको यी अभिव्यक्तिहरूले आगामी बिहार विधानसभा निर्वाचनलाई लक्षित गर्दै गठबन्धन सरकारको विपक्षमा जनमत बनाउने रणनीतिक प्रयासका रूपमा हेरिएको छ। तस्बिर र व्यंग्यको माध्यमबाट उनले एनडीए सरकारभित्रको सत्ता सन्तुलन, नेतृत्वको कमजोरी र दिल्लीमा रहेको नियन्त्रणमाथि प्रश्न उठाएका छन्। साथै, उनले यह स्पष्ट संकेत गरेका छन् कि मुख्यमन्त्री नितिश कुमार अब केवल नाममात्रका नेता बनेका छन्, जबकि वास्तविक निर्णय भाजपा र प्रधानमन्त्रीको प्रभावमा भइरहेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, लालुको यस्तो शैलीले जनता र युवाहरूमा असर पार्ने सम्भावना रहेको छ। तर सत्तारूढ पक्षबाट यसको जवाफ कसरी आउँछ भन्ने कुरा अबको दिनमा स्पष्ट हुनेछ।

प्रकाशित मिति: २०८२ श्रावण १, बिहीबार ०६:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको