काठमाडौं, साउन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकहरूको न्यूनतम पारिश्रमिक वृद्धि भएकोमा खुसी व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले श्रमिकको योगदानलाई मूल्याङ्कन गर्दै श्रमबिना प्रगति सम्भव नभएको र श्रमिकको सम्मान बिना समृद्धि पनि सम्भव नहुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले लेखेका छन्, “हामीले विगतमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने प्रयास गरेका थियौँ । हालसम्म करिब २१ लाख श्रमिक सामाजिक सुरक्षा योजनामा आबद्ध भइसकेका छन् ।”
उनले थप लेखेका छन्, “सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३०० रुपैयाँबाट बढाएर १९ हजार ५५० रुपैयाँ बनाउने निर्णय गरेको छ । यस निर्णयले श्रमिकहरूलाई एक मुट्ठी भरोसा दिनेछ । जय श्रमिक, जय नेपाल ।”
सरकार, रोजगारदाता, र श्रमिक संगठनहरूबीचको सहमतिअनुसार न्यूनतम मासिक पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गरिएको हो । यसमध्ये आधारभूत पारिश्रमिक १२ हजार १७० र महङ्गी भत्ता ७ हजार ३८० रुपैयाँ रहेको छ । यसअघि निर्धारण गरिएको १७ हजार ३०० रुपैयाँको तुलनामा यो २ हजार २५० रुपैयाँले वृद्धि भएको हो ।
प्रधानमन्त्रीको श्रमिकको सम्मान बिना समृद्धि भनाइले सरकार श्रमिकको हकहितप्रति प्रतिवद्ध रहेको संकेत गर्छ । उनले सामाजिक सुरक्षा कार्यक्रम र पारिश्रमिक वृद्धिलाई श्रमिकहरूको सम्मान र समृद्धि तर्फको सार्थक कदमको रुपमा व्याख्या गरेका छन् ।
यो निर्णय सँगै सरकारको नीति श्रमिक–मैत्री भएको पुष्टि हुँदै गएको छ । साथै, श्रमिकहरूमा विश्वास, उत्साह र आत्मबल थपिने अपेक्षा गरिएको छ ।




