त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता विवाद सुल्झियो



काठमाडौं, साउन ५ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तताको विषयमा उत्पन्न विवाद अन्ततः सुल्झिएको छ। कीर्तिपुरस्थित उपकुलपति कार्यालयमा सोमबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म भएको विस्तृत छलफलपछि सहमति जुटेको हो।

उपकुलपति प्रा.डा. दीपक अर्यालले समस्याको समाधान गर्न प्रतिबद्धता जनाएपछि सहमति कायम भएको पुल्चोक क्याम्पस प्रमुख सञ्जय उप्रेतीले जानकारी दिए। उनका अनुसार, उपकुलपति, डिन कार्यालय, क्याम्पस प्रशासन, विद्यार्थी संगठनका प्रतिनिधि र आन्दोलनरत शिक्षकहरूबीच आपसी समझदारीपछि सहमति जुटेको हो।

यद्यपि सहमतिको विस्तृत बुँदा सार्वजनिक गरिएको छैन। उप्रेतीका अनुसार, उपकुलपति अर्यालले मंगलबार (भोलि) औपचारिक पत्र सर्कुलरमार्फत सहमति सार्वजनिक गर्नेछन्। त्यसैअनुसार मंगलबारदेखि पठनपाठन सुचारु हुने भएको छ।

स्वायत्तताको माग राख्दै असार १९ गतेदेखि आन्दोलनमा उत्रिएका शिक्षकहरूले असार २५ गतेदेखि पठनपाठन पूर्णरूपमा ठप्प पारेका थिए। यसका कारण इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका पाँच आंगिक क्याम्पस — पुल्चोक, थापाथली, पूर्वाञ्चल, पश्चिमाञ्चल र चितवन क्याम्पसको पढाइ प्रभावित भएको थियो।

संस्थानका शिक्षकहरू २०५५ सालको विकेन्द्रीकरण नियमावलीअनुसार सञ्चालित अधिकार कटौती भएको भन्दै आन्दोलनमा थिए। त्रिविले २०८० सालको बजेट वक्तव्यमार्फत आर्थिक, शैक्षिक र प्रशासनिक अधिकार कटौती गरेपछि अध्ययन संस्थान आन्दोलित बनेको थियो।

आन्दोलन संयोजन समितिकी संयोजक प्रा.डा. संगिता सिंहले सहमति भएपछि सबै आन्दोलनका कार्यक्रमहरू फिर्ता लिइएको जानकारी दिइन्। ूअब पठनपाठन नियमित रूपमा सुरु हुन्छ,ू उनले भनिन्।

यस सहमतिसँगै लामो समयदेखि अस्तव्यस्त भएको त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानको शैक्षिक वातावरण पुनः सामान्य अवस्थामा फर्कने विश्वास गरिएको छ। शिक्षकहरू, विद्यार्थीहरू र प्रशासनबीचको सहकार्यले समस्या समाधानतर्फ सकारात्मक संकेत दिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ५, सोमबार १८:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको