काठमाडौं, साउन ७ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवस आज नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीहरूले पुष्पलालको योगदानलाई स्मरण गर्दै श्रद्धाञ्जली, अन्तरक्रिया र ग्रन्थ विमोचन कार्यक्रम आयोजना गरेका छन्।
विसं १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिनुभएका पुष्पलाल श्रेष्ठ नेपालमा साम्यवादी विचारधाराको आधार तयार पार्ने व्यक्ति मानिन्छन्। उहाँले कार्ल माक्र्स र फेडरिक एङ्गेल्सको कम्युनिष्ट म्यानिफेस्टो नेपालीमा पहिलोपटक अनुवाद गर्नुका साथै नेपाली समाजको वर्गीय विश्लेषण गर्दै नौलो जनवाद को सिद्धान्त अघि सार्नुभएको थियो।
पुष्पलालकै नेतृत्वमा २००६ साल वैशाख १० गते भारतको कलकत्तास्थित श्यामबजारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना गरिएको थियो। त्यस पार्टीमा नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठजस्ता व्यक्तिहरू पनि सहभागी थिए। पुष्पलाल पार्टीका संस्थापक महासचिव बन्नुभएको थियो।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेका अनुसार पुष्पलालले विसं २०२७ मै नेपाली कांग्रेससँग कार्यगत एकता गरी प्रजातन्त्र पुनःस्थापनाको मार्ग खोल्नुपर्ने धारणा अघि सार्नुभएको थियो।
‘त्यसबेला हामीले उहाँको विचारलाई दक्षिणपन्थी भनेर आलोचना गर्यौँ,’ न्यौपानेले बताए, ‘तर पछि २०४५ सालतिर आएर हामीले बुझ्यौँ कि पञ्चायत अन्त्य गर्न कांग्रेससँग मोर्चा आवश्यक थियो।’
नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले पुष्पलाललाई नेपालमा कम्युनिष्ट आन्दोलनको प्रारम्भ गर्ने नेताका रूपमा स्मरण गर्दै भने, “उहाँले नेपाली समाजको यथार्थमा आधारित घोषणापत्र लेखेर सैद्धान्तिक बाटो देखाउनु भयो।”
यस्तै, नेकपा (एकीकृत समाजवादी) का नेता डा. बेदुराम भुसालले पुष्पलालले सुरु गरेको आन्दोलनलाई एकताबद्ध गरेर अघि बढाउनु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने बताए।
पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) ले कीर्तिपुर–४ स्थित पुष्पलाल उद्यानमा श्रद्धाञ्जली सभा, अन्तरक्रिया तथा ग्रन्थ विमोचन कार्यक्रम आयोजना गर्दैछ। पार्टीले सबै जिल्ला कमिटीहरूलाई पनि आफ्ना क्षेत्रमा कार्यक्रम गर्न निर्देशन दिएको छ।
पुष्पलाल श्रेष्ठको निधन विसं २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा भएको थियो।




