जनकपुरधामको समुचित विकासका लागि सहरी विकास मन्त्रालय तत्पर : उपप्रधानमन्त्री सिंह



जनकपुरधाम, साउन ७ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनकपुरधामको समुचित र दिगो विकासका लागि सहरी विकास मन्त्रालय पूर्ण रूपमा तत्पर रहेको बताएका छन्। उनले जनकपुरधामलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले विशेष महत्वको क्षेत्र भएको उल्लेख गर्दै यसको समग्र विकासमा मन्त्रालयको निरन्तर ध्यान रहने बताए।

जनकपुरधामस्थित सीता पुष्पवाटिका (मणिमण्डप) को नयाँ भवन उद्घाटन समारोहमा बोल्दै मन्त्री सिंहले सहरी विकास मन्त्रालयले जनकपुरमा धार्मिक र ऐतिहासिक महत्व बोकेका संरचनाहरू निर्माण गर्दै आएको जानकारी दिए। उनले मणिमण्डपको पुनर्निर्माण जनकपुरको सांस्कृतिक पहिचान जोगाउने महत्वपूर्ण पहल भएको बताए।

“जनकपुरधाम भगवान श्रीराम र सीता माताको विवाह स्थल हो। यस्तो पवित्र भूमि केवल नेपाल र भारतका लागि मात्र होइन, सम्पूर्ण विश्वको सांस्कृतिक सम्पदा हो,” उनले भने। त्यसैले यस क्षेत्रलाई ूम्यारेज डेस्टिनेसनू का रूपमा प्रवर्द्धन गर्नुपर्ने उनले सुझाव दिए। विश्वभरिका पर्यटक र श्रद्धालुहरूलाई आकर्षित गर्न आवश्यक भौतिक पूर्वाधार, यातायात सुविधा, सरसफाइ, आवास र सूचना प्रवाह प्रणालीको सुदृढीकरण अपरिहार्य भएको उनले औंल्याए।

मन्त्री सिंहले जनकपुरधामको प्रचार–प्रसार भारत र नेपालमा मात्र सीमित नराखी अन्तर्राष्ट्रियस्तरमा गर्नुपर्नेमा जोड दिए। ूसीता र रामको कथा हिन्दू धर्मको मात्र होइन, विश्व साहित्य र आस्थाको साझा धरोहर हो। यसलाई विश्वसामु चिनाउन हामीले व्यापक रणनीति बनाउनुपर्छ,ू उनले भने।

मणिमण्डपको निर्माण सहरी विकास मन्त्रालयले गरे पनि यसको संरक्षण र व्यवस्थापनमा स्थानीयवासीको सक्रिय सहभागिता आवश्यक रहेको उनले उल्लेख गरे। उनले स्थानीय सरकार र जनसमुदायसँग सहकार्य गर्दै धार्मिक पर्यटन प्रवर्द्धनका विविध कार्यक्रम अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।

उनका अनुसार सहरी विकास मन्त्रालयले जनकपुरधामको पूर्वाधार विकास, हरित क्षेत्र विस्तार, सांस्कृतिक सम्पदाको संरक्षण र सहरी सौन्दर्यकरणमा प्राथमिकता दिइरहेको छ। उनले भविष्यमा थप ऐतिहासिक र धार्मिक स्थलहरूको पुनर्निर्माण तथा संरक्षणमा मन्त्रालयले सहकार्य गर्न तत्पर रहेको जानकारी दिए।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका, स्थानीय संघसंस्था तथा धार्मिक अगुवाहरूको समेत सहभागिता रहेको थियो। उनीहरूले मन्त्री सिंहको प्रयासको प्रशंसा गर्दै स्थानीय तह र संघीय सरकारबीच समन्वयात्मक कार्य शैलीले जनकपुरको समृद्ध भविष्य सुनिश्चित गर्न सक्ने विश्वास व्यक्त गरेका थिए।

प्रकाशित मिति: २०८२ श्रावण ७, बुधबार १६:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको