जसपा नेपाल प्रति आम जनताको झुकाव बढ्दैः पूर्वमुख्यमन्त्री राउत



वीरगञ्ज, साउन ८ । मधेश प्रदेशका पूर्व मुख्यमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा) नेपालका महासचिव लालबाबु राउतले जसपा नेपाल प्रति आम जनताको झुकाव बढ्दै गएको बताएका छन् ।

पर्साको पर्सागढी नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व मुख्यमन्त्री राउतले जनतामा मधेशीसंग विगतमा र अहिले भई रहेको विभेद विरुद्धको लडाइमा साथ दिन र सहयोगी बन्न मधेशी जनता अहिले पनि तत्पर रहेको बताए । उनले संघीयता ल्याउन मधेशवादी दलहरुको भूमिका महत्वपूर्ण रहेको तर, केही खसवादी मानसिकतावाट ग्रसित भएकाहरु संघीयतालाई बदनाम गरेर संघीयतानै समाप्त पार्ने दाउमा लागेको आरोप लगाएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा उनले संघीयता मधेशी जनताकोलागि अपरिहार्य रहेको बताउँदै संघीयता समाप्त भए मधेश आन्दोलन र मधेशीको पहिचान पनि गुम्ने खतरा रहेका कारण संघीयतालाई बचाएर राख्नुपर्ने दायित्व मधेशी जनताको कांधमा रहेको टिप्पणी गरे । उनले भने–‘मधेश प्रदेशको नामकरण गर्नमा हामीले उनीहरुको छल, कपट हेरेको र त्यस छल कपटले उनीहरु सत्ताको सुखभोग गरिरहेका छन् । मधेशी जनताको समस्याको सामाधान तिर उनीहरुको कुनै चासो छैन् ।’

‘मेरो नेतृत्वको मधेश प्रदेश सरकारले ल्याएको छोरी विमा, मधेश प्रदेशको पर्यटन प्रवद्र्धन, वेटी बचाउँ बेटी पढाउँ लगायतका योजनाहरु अहिले धरासाही भएको छ’ उनले भने–‘आम मधेशी जनता लाभान्वित हुने योजनाहरु अहिले हटाइएको छ ।’ मधेशी जनतालाई नोक्सान पुर्याउने हिसावले वर्तमान सरकार भूमिअध्यादेश समेत ल्याउन लागेको उनले आरोप लगाएका थिए ।

केन्द्रीकृत मानसिकतावाट ग्रसितहरुले मधेश प्रदेश सरकारमा भ्रष्टाचार भएको भनि प्रचारबाजी गरेको आरोप लगाउँदै मधेश प्रदेशका पूर्व मुख्यमन्त्री राउतले जसपा नेतृत्वको सरकार हटेपछि के मधेशले निजामती कर्मचारी, मधेश प्रदेश प्रहरी ऐनहरु पाए ? भनेर प्रश्न समेत गरेका थिए । जसपा नेपाल प्रति आम जनताको झुकाव बढ्दै बताउँदै उनले मधेशी जनताले आगामी दिनमा आफ्नो हक अधिकार बराबर बराबर लिने दावी समेत गरेका थिए ।

कार्यक्रममा पर्सागढी नगरपालिका–१ का नेकपा माओवादी बाट वडाध्यक्ष प्रत्यासी विकेश राय थारुको नेतृत्वमा पर्सागढी १ का यूवाहरुले नेकपा माओवादी पार्टी र रास्वपा परित्याग गरी जसपा नेपालमा पार्टी प्रवेश गरेका थिए । कार्यक्रममा जसपा नेपालका महासचिव एवम् मधेश प्रदेशका पूर्वमुख्यमन्त्री राउत, केन्द्रिय सदस्य शशिकपुर मियाँ, जसपा नेपाल पर्साका जिल्ला अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव रितेश कुमार गुप्ता लगायतले नवप्रवेशीहरुलाई खादा र टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

प्रकाशित मिति: २०८२ श्रावण ८, बिहिवार ११:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको