अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी



काठमाडौं, साउन ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता गरिएको छ। उनीविरुद्ध तीन ठूला र विवादास्पद भ्रष्टाचार प्रकरणहरूमा संलग्न भएको आरोप लगाइएको छ।

सिन्धुली कमलामाईका युवराज पौडेलले आइतबार अख्तियार कार्यालय पुगेर उजुरी दर्ता गराएका हुन्। उजुरी दर्ता नम्बर ‘सी–००३४९८’ मा दर्ता भएको छ। उजुरीमा पौडेलले वाइडबडी विमान खरिद प्रकरण, नेपाल आयल निगमको जग्गा खरिद प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणलाई उल्लेख गर्दै प्रेमकुमार राईमाथि तत्काल छानबिन र कारबाहीको माग गरेका छन्।

वाइडबडी विमान खरिद प्रकरणमा विशेष अदालतले हालै दिएको पूर्णपाठमा, ूदूषित कामकारबाहीको प्रारम्भिक निर्णयकर्तामाथि अनुसन्धान नभएकोू भन्ने न्यायिक टिप्पणी गर्दै चयनात्मक अभियोजन भएको आरोप लगाएको थियो। सो प्रकरणमा केहीलाई मात्र मुद्दा लगाइएको र जिम्मेवार उच्च पदस्थ व्यक्तिहरू उम्किएको भन्दै व्यापक आलोचना भएको थियो।

उजुरीमा उल्लेख गरिएअनुसार, राई नेपाल आयल निगमको सञ्चालक समितिका अध्यक्ष रहेका बेला जग्गा खरिदमा अनियमितता भएको आरोप लागेको हो। त्यही समयमा तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कामाथि भ्रष्टाचार मुद्दा दायर गरिएको थियो, तर राईलाई उम्काइएको भन्दै पौडेलले ूतामेलीमा राखिएको फाइललाई पुनः खोल्नुपर्नेू माग गरेका छन्।

उजुरीमा उल्लेख गरिएको तेस्रो मुद्दा नक्कली भुटानी शरणार्थी प्रकरण हो। केही आरोपीहरूले ूतत्कालीन गृहसचिव प्रेमकुमार राईको गाडीमा नगद राखिदिएकोू बयान दिएका थिए। तर प्रहरी वा अख्तियारले राईमाथि कुनै अनुसन्धान नगरेको भन्दै पौडेलले यो घटनामा समेत कारबाहीको माग गरेका छन्।

पौडेलले आफ्नो उजुरीमा भनेका छन्, अख्तियारका प्रमुख आयुक्तको जिम्मेवारी सम्हालिरहेका व्यक्ति स्वयं गम्भीर भ्रष्टाचारका अभियोगमा मुछिएको अवस्थामा छानबिन नगर्नु गलत हो। त्यसैले, तत्काल पुरक अभियोगपत्रमार्फत मुद्दा दायर गरी हदैसम्मको कारबाही हुनुपर्छ।

प्रेमकुमार राईविरुद्ध उजुरी दर्ता भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्पक्षता र विश्वसनीयतामाथि पुनः गम्भीर प्रश्नहरू उठेका छन्। अख्तियार प्रमुख स्वयंमाथि अनुसन्धानको माग आउनु आफैंमा संवैधानिक निकायप्रतिको विश्वासको संकट हो।

प्रकाशित मिति: २०८२ श्रावण ११, आईतवार १४:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको