सुनकोशी मरिन डाइभर्सन आयोजनाको गति सुस्त, मधेशका लाखौं किसान प्रतीक्षामा



जनकपुरधाम, साउन १४ । मधेशका किसानहरुले व्यग्र प्रतिक्षा गर्दै आएका सुनकोशी मरिन डाइभर्सन आयोजनाको गति सुस्त देखिएको
छ ।

मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका किसानहरू वर्षौंदेखि स्थायी सिँचाइ सुविधाको प्रतीक्षामा छन्। उनीहरूको आशाको केन्द्र बनेको सुनकोशी मरिन बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम भने अत्यन्त सुस्त गतिमा अगाडि बढिरहेको देखिएको छ।
वि.सं. २०७७ सालमा भव्य शिलान्याससहित सुरु गरिएको यो आयोजनाको ठेक्का पटेल–रमण (संयुक्त) निर्माण कम्पनीले लिएको हो। कुल लागत १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँ रहेको बाँध निर्माण कार्य सुरु भएको ३० महिनामा मात्र ७ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ।

एक वर्षअघि नै आयोजनाको सुरुङ खन्ने काम (ब्रेकथ्रु) सम्पन्न भइसकेको छ । सुरुङमार्फत सुनकोशी नदीको पानी कमलामाई नगरपालिका–१, कुसुमटारस्थित मरिन खोलामा झारिनेछ । त्यसपछि मरिन नदी हुँदै बागमती ब्यारेकबाट तराई मधेशका खेतहरूमा सिँचाइ व्यवस्था हुनेछ ।
तर बाँध निर्माणको काममा ढिलाइ, निर्माण कम्पनीको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउन थालिएको छ।

सरकारले अहिले विपद् प्रभावित र सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको मधेश प्रदेशमा सिँचाइको आवश्यकता झन् तीव्र बनेको छ। तर आयोजनाको सुस्त गतिका कारण करिब १ लाख २२ हजार हेक्टर जमिन अझै भरपर्दो सिँचाइ सुविधाबाट वञ्चित छ।

स्थानीय किसानहरू भन्छन्, “वर्षा भएन भने बाली सुक्छ। सरकारी योजना भने नाम मात्रको छ। कहिले सकिन्छ पत्तो छैन।”

समग्र प्रगति ३५% मात्र, लक्ष्य २०८४ असोज

हालसम्म आयोजनाको समग्र भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ। आयोजनाले सम्पूर्ण निर्माण कार्य २०८४ साल असोजसम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ। तर वर्तमान गति हेर्दा यो लक्ष्यसमेत संकटमा पर्ने आशंका छ।

सुनकोशी मरिन डाइभर्सन आयोजना केवल एक विकास योजना होइन, यो मधेशका लाखौं किसानको जीवन र भविष्यसँग जोडिएको सपना हो। तर हालको प्रगति हेर्दा यो सपना बिरानो वाचाझैं लाग्न थालेको छ। अब प्रश्न उठ्छ—सरकार, निर्माण कम्पनी र सम्बन्धित निकाय मिलेर यो आयोजनालाई समयमै सम्पन्न गर्न सक्लान् त? कि यो पनि अरु परियोजनाजस्तै राजनीतिक भाषण र ढिलासुस्तीको बलिको बोको मात्र बन्नेछ?

प्रकाशित मिति: २०८२ श्रावण १४, बुधवार ०९:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको