काठमाडौँ, साउन १५ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पार्टीको बहुमत केन्द्रीय सदस्यहरूले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय भेलाले अध्यक्ष रन्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरिसकेको छ भने आजै नयाँ कार्यसमिति चयन गर्ने तयारीमा छन् ।
राष्ट्रिय भेलामा अध्यक्षको पदका लागि रामलाल डगौरा, लालवीर चौधरी र गङ्गा चौधरीबीच दौड रहेको छ। टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा अहिले भेला सञ्चालन गरिरहेका छन्। अर्का आकांक्षी गङ्गा चौधरी पार्टी संसदीय दलका नेता हुन् तर निर्वाचन आयोगले उनलाई महासचिवको रूपमा मान्यता दिएको छैन।
यता बर्खास्त अध्यक्ष रन्जिता श्रेष्ठले भेलालाई अवैधानिक भन्दै कडा आपत्ति जनाएकी छन् । उनले भनिन्, “राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै हुन्छ । मैले कुनै भेला आह्वान गरेकी छैन । त्यसैले भेलाको निर्णय वैधानिक मानिँदैन ।”
श्रेष्ठले महासचिव भन्दै पत्र काट्ने गङ्गा चौधरीको कदमलाई पनि अस्वीकार गरेकी छन् । निर्वाचन आयोगको विवरण अनुसार, नाउपाको २१ सदस्यीय केन्द्रीय समितिमा गङ्गा चौधरी महासचिवका रूपमा सूचीकृत छैनन् ।
साउन ११ गते श्रेष्ठले कास्कीका शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष नियुक्त गरेपछि विवाद चुलिएको हो। श्रेष्ठका अनुसार संरक्षक रेशम चौधरीले स्वयं कार्यवाहक तोक्न वा राजीनामा गर्न सुझाएका थिए, जसको आधारमा निर्णय गरिएको हो।
तर निर्वाचन तथा अनुशासन आयोगले सो निर्णयलाई विधानविपरीत भन्दै श्रेष्ठलाई कडा कारबाहीको सिफारिस गरेको थियो।
भेलाले अध्यक्षसहित १ वरिष्ठ उपाध्यक्ष, ७ प्रदेश संयोजक, ७ उपाध्यक्ष, १ महासचिव र ७ सह–महासचिवसहितको नयाँ कार्यसमिति बनाउने तयारी गरेको छ । संरक्षक रेशम चौधरी निर्वाचन आयोगको परामर्शमा रहेको जनाइएको छ ।






