एजेन्सी, साउन २० । बिहारमा प्रस्तावित महागठबन्धनको ’मतदाता अधिकार यात्रा’ अहिलेको लागि स्थगित गरिएको छ । निर्वाचन आयोगद्वारा गरिएको मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआइआर) विरुद्ध आयोजना गर्न लागिएको यो यात्रा “अपरिहार्य कारणवश” स्थगित गरिएको हो ।
महागठबन्धनले १० अगस्टदेखि २० अगस्टसम्म ११ वटा जिल्लामा यात्रा गर्ने तयारी गरेको थियो । यस अभियानको सुरुआत सासारामबाट हुने तय भएको थियो। तर, नयाँ निर्णय अनुसार हाल यो यात्रा अर्को सूचना नआएसम्मका लागि रोकिएको छ।
यस यात्रामा लोकसभा प्रतिपक्षका नेता राहुल गाँधी र बिहार विधानसभा प्रतिपक्षका नेता तेजस्वी यादव सहित महागठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरू सहभागी हुने घोषणा गरिएको थियो ।
राष्ट्रिय जनता दल (राजद) का प्रदेश प्रधान महासचिव रणविजय साहूले सोमबार औपचारिक पत्र जारी गर्दै यात्राको स्थगनको जानकारी दिएका हुन्।
महागठबन्धनले निर्वाचन आयोगको विशेष पुनरीक्षण प्रक्रियामा अनियमितता रहेको दाबी गर्दै यसको विरोधमा सडक आन्दोलनको तयारी गरेको थियो।
उनीहरूको आरोप छ कि एसआइआरको नाममा व्यापक रूपमा वोटर लिस्टबाट नाम हटाउने प्रयास भइरहेको छ, जुन लोकतान्त्रिक अधिकारको उल्लंघन हो।
यही सन्देश लिएर महागठबन्धनले जनता माझ पुग्ने रणनीति बनाएको थियो। हालसम्म यात्रा स्थगनको ठोस कारण खुलाइएको छैन। “अपरिहार्य कारण” भनेर मात्र उल्लेख गरिएको छ, जसले विभिन्न अड्कलबाजी जन्माएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार रणनीतिक समन्वय, सुरक्षा कारण, वा आन्तरिक दबाबका कारण यात्रा स्थगित हुनसक्ने अनुमान गरिएको छ।
महागठबन्धनको यो निर्णयले विपक्षी दलहरूमा असमञ्जसता बढाएको छ । चुनावी वर्षमा मतदाता सचेतना कार्यक्रमको रूपमा लिइएको यो यात्रा अब कहिले पुनः सुरु हुन्छ भन्ने स्पष्ट भइसकेको छैन।
तर, जानकारहरू भन्छन, “चुनावी रणनीतिको हिसाबले महागठबन्धन कुनै ठूलो योजना बनाईरहेको छ, जुन सहि समय कुर्दैछ।“






