बिहारको वैशालीमा डुंगा दुर्घटना, १३ जना किशोरकिशोरीको मृत्यु



एजेन्सी, असोज २८ । भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुरमा डुंगा पल्टिँदा १३ जना किशोरकिशोरीको मृत्यु भएको छ। मृतक सबैको उमेर करिब १५ वर्ष रहेको जिल्ला अधिकारी वर्षा सिंहले बताएकी छन्।

मंगलबार राति रामपुर श्यामचन्द पञ्चायतमा भोज खान जाँदै गरेका यात्रु सवार डुंगा पल्टिएको थियो। डुंगामा करिब २० जना सवार रहेको बताइएको छ।

दुर्घटनापछि स्थानीयवासी, राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) र गोताखोरको सहयोगमा उद्धार गरिएको थियो। घाइतेहरूलाई राघोपुर फतेहपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो। केही घाइतेलाई थप उपचारका लागि पटना पठाइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन्। बिहारका मुख्यमन्त्री सम्राट चौधरीले मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्।

स्थानीयवासीले डुंगा जीर्ण रहेकाले दुर्घटना भएको दाबी गर्दै सम्बन्धित अधिकारीमाथि कारबाहीको माग गरेका छन्। घटनास्थलमा पुगेका जिल्ला अधिकारी र प्रहरी अधिकारीसमक्ष स्थानीयले नाराबाजीसमेत गरेका थिए।

प्रकाशित मिति: २०८३ आश्विन २८, बुधबार ०८:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको