एजेन्सी
पटना, साउन २३ । जन सुराज अभियानका रणनीतिकार प्रशान्त किशोरले बिहारमा अहिले लोकतन्त्र नभई अहिले लाठीतन्त्र चलिरहेको आरोप लगाएका छन । ‘बिहार परिवर्तन यात्रा’ अन्तर्गत कैमूर जिल्लाको भभुआस्थित पटेल कलेज मैदानमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले बिहारका मुख्यमन्त्री नीतीश कुमारमाथि तीव्र प्रहार गर्दै यस्तो आरोप लगाएका हुन ।
किशोरले भने, “बिहारमा जोसुकैले पनि अन्यायको विरुद्धमा आवाज उठायो भने, उसलाई लाठीसँग सामना गर्नुपर्छ । तर अब जनता चुप बस्ने छैनन्, मतदानमार्फत् प्रतिकार गर्नेछन्।”
प्रशान्त किशोरले मुख्यमन्त्री नीतीश कुमारको नेतृत्वमा राज्य सरकारले पछिल्लो तीन वर्षमा ८० भन्दा बढी वर्गहरू (शिक्षक, विद्यार्थी, महिला, आशा कार्यकर्ता, सरपंच, रसोइया आदि) माथि लाठियाँ चलाइएको दावी गरे । उनले भने, “जन सुराज अभियानको प्रभावका कारण राजधानी पटना लगायतका ठाउँहरूमा यस्तो घटनामा केही कमी देखिएको छ, तर सरकारको चरित्र अझै उस्तै छ।”
मिडियासँगको कुराकानीमा किशोरले राज्यमा बढ्दो पलायन र श्रमिक शोषणलाई लिएर चिन्ता व्यक्त गरे। उनले उदाहरण दिँदै भने, “हरियाणाको किशनगञ्ज जिल्लामा बिहारको १५ वर्षे बालक डेढ महिनासम्म बन्धक बनाएर काम गराइयो। घाँस काट्ने क्रममा हात काटिएपछि उसलाई त्यहाँबाट लखेटियो। यस्तो अवस्थामा केन्द्र सरकार र भाजपा किन मौन छ?”
प्रधानमन्त्री नरेन्द्र मोदीमाथि प्रहार गर्दै किशोरले भने, “मोदीजी बिहार आउँछन्, तर जनताको पैसामा र्याली गर्छन्। उनी भन्छन्, ‘बिहारका मजदूरलाई गुजरात पु¥याउने ट्रेन बनाउँछु।’ तर बिहारमै रोजगारी दिनका लागि कुनै कारखाना खोल्ने प्रतिबद्धता कहिले गर्ने?”
प्रशान्त किशोरले भारत सरकारको विदेश नीति र अमेरिकाद्वारा भारतमाथि लगाइएको ५०% टैरिफबारे पनि प्रश्न उठाए। “भाजपा आफैँलाई विश्व गुरु भन्छ, तर अमेरिकासँग टैरिफमा पनि झुकिरहेको छ,” उनले भने।
कार्यक्रमको अन्त्यमा प्रशान्त किशोरले भने, “बिहार परिवर्तन यात्राको उद्देश्य जनतालाई सचेत गराउनु, तानाशाही प्रवृत्तिको अन्त्य गर्नु, र एक सशक्त, उत्तरदायी तथा प्रगतिशील समाज निर्माण गर्नु हो।”






