“मतदाता अधिकार यात्रा”मार्फत महागठबन्धन शक्ति प्रदर्शन गर्दै, राहुल गान्धी स्वयं सहभागी हुने



एजेन्सी
पटना, साउन २२ । आउँदो बिहार विधानसभा चुनावलाई लक्षित गर्दै भारतीय राष्ट्रिय कांग्रेसले “मतदाता अधिकार यात्रा”मार्फत महागठबन्धनको शक्ति प्रदर्शन गर्न लागेका छन ।

काँग्रेसका वरिष्ठ नेता राहुल गान्धी समेतको सहभागितामा महागठबन्धनले आगामी भदौ १ गते (१७ अगस्ट) देखि बिहारको रोहतास जिल्लाबाट “मतदाता अधिकार यात्रा” सुरु गर्ने लागेका हुन।

यस यात्रालाई कांग्रेसले लोकतन्त्रको रक्षाका लागि उठाइएको निर्णायक कदम भनेको छ, जसले राज्यभरका लाखौँ मतदाताको अधिकारको संरक्षण गर्नेछ। यात्रा विभिन्न जिल्लाहरू हुँदै राजधानी पटनामा समापन हुनेछ।

प्रदेश कांग्रेस अध्यक्ष राजेश रामले पत्रकार सम्मेलनमा भने, “यस यात्राको मुख्य उद्देश्य त्यस्ता लाखौँ मतदाताहरूको पहिचान गर्नु हो, जसका नाम मतदाता नामावलीबाट हटाइएको छ। खासगरी दलित र आदिवासी समुदायका मतदाताहरूको नाम ठूला संख्यामा हटाइएको छ, जुन लोकतान्त्रिक प्रक्रियामै प्रश्न उठाउने खालको हो।”

उनले थपे, “राहुल गान्धीले पहिल्यै यस विषयमा आशंका व्यक्त गर्नुभएको थियो, जुन अहिले पुष्टि भइसकेको छ।”

कांग्रेसका अनुसार यो यात्रा केवल पार्टीको नभई “इण्डिया गठबन्धन”को साझा प्रयास हुनेछ। गठबन्धनमा आवद्ध अन्य दलका नेता तथा कार्यकर्ताहरू पनि यात्रामा सहभागी हुनेछन् । विभिन्न स्थानहरूमा स्थानीय नेताहरूको अगुवाइमा यात्रा अघि बढ्नेछ र यसले एक जनआन्दोलनको स्वरूप लिने विश्वास कांग्रेसले व्यक्त गरेको छ।

कांग्रेसले चुनावी धाँधलीको आरोप लगाउँदै भनेको छ कि राज्यमा व्यवस्थित रूपमा दलित, आदिवासी तथा पिछडिएको वर्गका नागरिकहरूको मताधिकार खोसिएको छ। पार्टीले यसलाई लोकतन्त्रमाथिको हमला भन्दै आक्रोश प्रकट गरेको छ।

राजेश राम भन्छन्, “मतदाता नाम हटाउनु केवल प्राविधिक गल्ती होइन, यो नियोजित षड्यन्त्र हो। यो लोकतान्त्रिक अधिकारको हनन हो, जसविरुद्ध हामी दृढ संघर्ष गर्नेछौं।”

राजेश रामका अनुसार यो यात्रा केवल कांग्रेसको मात्र नभई बिहारको आवाज हो। उनले भने, “यो हाम्रो आवाज हो, हाम्रो अधिकारको रक्षाका लागि संघर्ष हो। हरेक नागरिकलाई मतदान गर्ने अधिकार सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो माग छ।”

कांग्रेसले यो यात्रासँगै राज्यव्यापी जनचेतना अभियान पनि सञ्चालन गर्दैछ। पार्टीको दाबी छ कि यो यात्रा राजनीतिक पहलमात्र होइन, बरु यसले एक जनअभियानको रूप लिनेछ।

पार्टीले विश्वास व्यक्त गरेको छ कि “मतदाता अधिकार यात्रा”मार्फत जनतामा चुनावी जागरूकता बढ्नेछ र लोकतान्त्रिक प्रक्रियामा सम्पूर्ण नागरिकको सहभागिता सुनिश्चित हुनेछ।

यस यात्राले केवल मतदाता अधिकारको सवाल उठाउने होइन, आगामी चुनावमा लोकतन्त्रको वास्तविक अर्थको पुनःस्थापना गर्ने प्रयास गर्नेछ।

प्रकाशित मिति: २०८२ श्रावण २३, शुक्रबार ०७:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको