सामाजिक सञ्जालमा आफनो प्रभाव विस्तार गर्दै भाजपा, बूथ कार्यकर्तालाई विशेष जिम्मेवारी



एजेन्सी
पटना, साउन २५ । बिहारमा हुने आगामी विधानसभा चुनावलाई लक्षित गर्दै भारतीय जनता पार्टी (भाजपा)ले सामाजिक सञ्जालमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीति बनाएको छ । पार्टीले पाँच लाख बूथ स्तरीय कार्यकर्तालाई विशेष जिम्मेवारी दिँदै, उनीहरूलाई प्रशिक्षणमार्फत जनता सम्म सरकारका उपलब्धिहरू पु¥याउने योजना अघि सारेको हो।

भाजपाले बूथ स्तरदेखि नै युवाहरू, ज्येष्ठ नागरिक, दिव्याङ्ग र विधवाहरूलाई केन्द्रमा राखी जनसंपर्क अभियान चलाउनेछ । कार्यकर्ताहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, पार्टी अध्यक्ष जेपी नड्डा लगायत शीर्ष नेताहरूका सामाजिक सञ्जाल खाताहरू फलो गर्न जनतालाई प्रेरित गर्ने कार्य दिइएको छ। साथै, स्थानीय नेता, सांसद, विधायक, तथा भावी उम्मेदवारहरूसँग पनि जनता जोडिनेछन्।

यस अभियानअन्तर्गत पहिलो चरणमा १४२० संगठनात्मक मण्डलमा कार्यशालाहरू आयोजना भइसकेका छन्। यी कार्यशालाबाट प्रशिक्षित ‘शक्ति केन्द्र प्रशिक्षक’हरूले प्रत्येक बूथमा पाँच–पाँच कार्यकर्ताको टोली बनाएर जनसम्पर्क बढाउनेछन्।

भाजपाका अनुसार, डबल इन्जिन सरकारको सामाजिक सुरक्षा योजनाले जनतामा गहिरो प्रभाव पारेको छ। वृद्ध, दिव्याङ्ग र विधवाहरूको मासिक पेन्सन ४०० रुपैयाँबाट बढाएर ११०० रुपैयाँ पु¥याइएको छ। यसले लाभार्थी वर्गमा सन्तोषको भावना जगाएको र उनीहरूलाई पार्टीसँग जोड्ने अवसर सिर्जना भएको दाबी गरिएको छ।

त्यस्तै, २०१६ मा सुरु भएको स्टुडेन्ट क्रेडिट कार्ड योजनाले हजारौँ विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहयोग गरेको पार्टीको दाबी छ। यस योजनाअन्तर्गत विद्यार्थीहरूले ४ लाख रुपैयाँसम्मको शिक्षा ऋण पाउने व्यवस्था छ, जुन पढाइ सकिएपछि र रोजगारी पाएको अवस्थामा मात्र तिर्नुपर्छ। भाजपाले यस योजना लाभ लिने युवालाई पनि आफ्नो समर्थनमा ल्याउने प्रयास गर्नेछ।

पार्टीका रणनीतिकारहरूका अनुसार, यी योजनाहरू अब जनजीवनको हिस्सा बनिसकेका छन् र यसको स्वीकार्यता व्यापक छ। यसलाई केवल संगठनको शक्ति मात्र नभई सरकारको कार्यसम्पादनको प्रमाणका रूपमा पनि प्रस्तुत गरिनेछ।

कार्यकर्ताहरूलाई ‘नमो एप’ र अन्य डिजिटल प्लेटफर्ममार्फत जनतालाई प्रत्यक्ष रूपमा पार्टीको एजेन्डा, योजनाहरू र उपलब्धिहरूको जानकारी दिन निर्देशन दिइएको छ। साथै, फेसबुक, एक्स (ट्विटर), टेलिग्राम, इन्स्टाग्राम र वाट्सअप समूहहरूमा पनि सक्रियता बढाइनेछ।

भाजपाले विश्वास गरेको छ कि बूथ स्तरदेखि सुरू भएको यो सामाजिक सञ्जाल अभियानले चुनावमा पार्टीको जनसमर्थनलाई बलियो बनाउनेछ र राज्यको विकास एजेन्डालाई मतदातासम्म प्रभावकारी रूपमा पु¥याउनेछ।

प्रकाशित मिति: २०८२ श्रावण २५, आईतवार ०८:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको