जनकपुरधाम, साउन २८ । धनुषा प्रहरीले गोली प्रहार गरि लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले गोली चलाउँदा एकजना कारोबारीको खुट्टामा गोली लागेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिएका छन । उनका अनुसार प्रहरीले गोली प्रहार गरि लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा भाग्न थालेपछि बुधवार साँझ करिब साढे ४ बजे गोली चलाउँदा मिथिला नगरपालिका वडा नंं २ नक्टाझिझ बस्ने ४८ वर्षीय पप्पु साह घाइते भएका छन । उनको दाहिने खुट्टामा गोली लागेको र अवस्था स्थिर रहेको धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिएका छन । उनि संगै हंसपुर नगरपालिका वडा नंं ५ बस्ने ३० वर्षीया सेलोदेवी रामलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
यस अघि पटक पटक पक्राउ पर्दै आएको साह केही दिन अगाडी मात्र लागूपदार्थको कारोबारमा ३ वर्षको जेल सजाय पाएर रिहा भएका थिए । कारागार सजाय पाएर पनि कारोबार नछाडेको सूचनाको आधारमा प्रहरीले पछ्याएर पक्राउ गर्न खोजेका थिए । उनको साथबाट एक सय ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
लागुऔषध कारोबारी साहको रमदैया स्थित अस्पतालमा उपचार भइरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।




